इलाम/रासस– भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले शनिबार नेपालको झन्डा गाडेको छ ।

इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो।

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो।

त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ।

अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए।

विद्यार्थीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमामा पर्ने नेपाली भूभागमा फोटो खिच्न तथा  निषेधित क्षेत्र लेखेको बोर्ड उखालेर फ्याकेको लामिछानेले जानकारी दिए।

एसएसबीले सन्दुकपुरको सबैभन्दा अग्लो भूभागमा जाने बाटोमा उक्त बोर्ड राखेको सुवेदीले बताए। बिहानै सन्दकपुरको चुचुरोमा जाने क्रममा पर्यटकसहितलाई रोकेको देखेपछि एसएसबी र विद्यार्थीबीच ढुंगाहानाहानसमेत भएको लामिछानेले बताए।

विद्यार्थीहरुले भारत विरोधी नारा जुलुस गर्दै नेपाली झण्डा गाँडेका हुन्।  प्रदर्शनको क्रममा एसएसबीका एक जवान सामान्य घाइते भएका छन्। लामिछानेले भने, ‘हामीले एसएसवीको सूचना बोर्ड हटायौँ र हाम्रो झण्डा राख्यौँ।’

त्यसपछि सन्दकपुरको चुचुरोमा पुगेका युवाहरुले नेपाली भूमिमाथिको अतिक्रमण तत्काल रोक्न दबाब दिनका लागि चर्का नारा लगाएका थिए।

गाउँपालिकाले सन्दकपुरकै आहालटारमा निर्माण थालेको भ्यूटावरमा एसएसबीले हस्तक्षेप गर्दै निर्माण कार्य रोकेको थियो। भारतीय पक्षले सो क्षेत्र दशगजामा पर्ने भन्दै काम रोकेको पशुपतिनगरको  शसस्त्र प्रहरीको बोर्डर अब्जरवेशन पोष्ट (बिओपी)का प्रमुख प्रहरी निरीक्षक पवन खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया