काठमाडौं । जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि भारतले नयाँ नक्सा जारी गरेको छ । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई पनि आफ्नो भुभाग दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेको छ । जसको नेपालमा चर्काे विरोध भएको छ ।
नेपाली सेनाले पछिल्लो सात महिनादेखि नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिको आधिकारिक प्रति खोजीरहेको छ । सुगौली सन्धीसँग सम्बन्धित अन्य दस्तावेज सहित यस विषयमा जानकारहरुको खोजीमा पनि सेना जुटेको छ । सुगौली सन्धि अहिले कालापानी क्षेत्रमा देखिएको नेपाल–भारत सिमा विवादको सबैभन्दा प्रमाणिक दस्तावेज हो ।
नेपाली सेनाले भारत र चीनसहित द्विपक्षीय सम्बन्ध भएका राष्ट्रहरुसँग विभिन्न ऐतिहासिक कालखण्डमा भएका सन्धि–सम्झौता खोजिरहेको खुलासा भएको छ । सैनिक मुख्यालय जंगी अड्डाभित्र एउटा छुट्टै निर्देशनालय नै स्थापना गरेर यस्ता महत्वपूर्ण दस्तावेजको खोजी तथा संकलन भइरहेको हो ।
नेपाली सेनाको सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनले भने, ‘छुट्टै निर्देशनालय बनाएर सुगौली सन्धि लगायतका दस्तावेज खोजिरहेका छौं । केही दस्तावेज फेला परेका छन, स्वदेशी र विदेशी जानकारहरूसँग यसबारे सम्पर्क गर्नेछौं ।’
https://www.facebook.com/1828150850557308/videos/271990090386648/?t=19
रक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन तहमा पुर्याउन सेनालाई सीमा सम्बन्धी छिमेकी देशहरुसँग भएका सन्धि–सम्झौता जस्ता महत्वपूर्ण दस्तावेजको अध्ययन–अनुसन्धान र संकलनको जिम्मेवारी दिएको हो ।
‘हामी सुगौली सन्धि खोजिरहेका छौं’, प्रवक्ता पाण्डेले भने, ‘केही दस्तावेज फेला परेका छन्, यसका जानकारहरूसँग पनि सेनाले सम्पर्क गर्नेछ ।’
सेनाले पाएको जिम्मेवारी अनुसार ऐतिहासिक नक्साको समेत अध्ययन अनुसन्धान हुनेछ । यस्तै पुराना सीमाको सर्वेक्षण र नक्सांकनमा खटिएका पूर्व अधिकारीलाई समेत सूचना स्रोतका रुपमा सेनाले उपयोग गर्ने अधिकार पाएको छ ।
‘हामी बाह्य स्रोतसँग समेत सहयोग लिनेछौं’, ती सैन्य अधिकारीले भने, ‘यसका लागि सेनाको एउटा महाशाखाले काम गरिरहेको छ ।’
यस्तो छ संरचना
नेपाली सेनाले सहायक रथी ९ब्रिगेडियर जर्नेल० को नेतृत्वमा चार महत्वपूर्ण महाशाखा सहित निर्देशनालय नै स्थापना गरेर सीमा तथा सन्धि–सम्झौता सम्बन्धी दस्तावेजको अध्ययन, अनुसन्धान, संकलन र सर्वेक्षण थालेपछि भारतले नयाँ नक्सा सार्वजनिक गरेको खुलासा भएको छ ।
सेनाले एकजना सहायक रथीको नेतृत्वमा चारजना महासेनानी सहितको निर्देशनालय यही बैशाखमा स्थापना गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णय गर्दै गत चैतमा सेनालाई पत्र पठाएपछि रक्षा मन्त्रालयको निर्देशनअनुसार सेनाले नयाँ निर्देशनालय स्थापना गरेको हो ।
नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको सचिवालयको प्रत्यक्ष निर्देशनमा रहने गरि २०७६ बैशाखमा सर्वे तथा सीमा अनुगमन निर्देशनालय स्थापना गरेको हो । निर्देशनालय अन्तर्गत प्राविधिक विज्ञ सहितको सीमा अनुगमन समन्वय महाशाखा, सर्वे महाशाखा, सन्धि तथा सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा र बन्दोबस्ती महाशाखा रहेका छन् ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले रक्षा मन्त्रालयको पत्रपछि सेनाले बैशाखदेखि नै सर्वे तथा सीमा अनुगमन निर्देशनालय स्थापना गरेर काम गरिरहेको स्वीकार गरे । उनले सेनाले राष्ट्रिय सुरक्षा नीतिअनुसार रक्षाले दिएको कार्य गरिरहेको बताए ।
‘हामीलाई रक्षाले पठाएको पत्रपछि हामी निर्देशनालय निर्माणको प्रक्रियामा गएका हौंं’, सहायक रथी पाण्डेले भने, ‘निर्देशनालयले चार महाशाखा सहित काम गरिरहेको छ ।’
उपप्रधान तथा रक्षामन्त्री पोखरेलले २०७५ फागुन २१ मा मन्त्रीस्तरीय निर्णय गर्दै सन्धि–सम्झौताको एकिकृत संकलन, अध्ययन अनुसन्धान र सीमा सुरक्षा तथा समन्वयको म्याण्डेट सहित सेनालाई खटाउने निर्णय गरेका थिए। रक्षाले सोही मन्त्रीस्तरीय निर्णयका आधारमा २०७५ चैत्र १४ मा सेनालाई औपचारिक पत्र पठाएको थियो ।
सुगौली सन्धी गर्नुको कारण
नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा भारतको सुगौलीमा भएको सन्धि ‘सुगौली सन्धि’ का नामले चर्चित छ । नेपालले ठूलो भू–भाग गुमाउनु परेको यो सन्धिपछि नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो ।
यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो । सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिश ९कम्पनी० पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए ।
सन्धिअनुसार नेपालले युद्धमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ना गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्न नपाउने सर्त नेपालले मानेको थियो ।
सुगौली सन्धिअघि फ्रान्सका कमाण्डरहरूले नेपाली सेनालाई तालिम दिन्थे ।
नेपालको तीन दिशामा भारतसँग १,७५१ किलोमिटर लामो खुल्ला सीमा रहेको छ । नेपाल र भारतबीच कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रको नक्साङ्कनमा सहमति भइसकेको दुवै देशका अधिकारीहरूले बताउने गरेका छन् । उत्तरतर्फ नेपाल र चीनबीच १,४१४ किलोमिटर लामो सीमा रहेको छ ।









