काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिले नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा भएको बैठकमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जनाएकी छिन् ।
‘नेपालका शैक्षिक सामाग्रीमा भएका गलत नक्सा सुधार गर्नुका साथै प्रचलनमा ल्याइने नेपालको नक्सामा लिम्पियाधुरासम्मको भूभाग समावेश गरी नक्सा तयार गर्न नेपाल सरकारलाई निर्देशन गरिन्छ ।’ समितिको निर्णयमा भनिएको छ ।
यसैगरी, सीमा रक्षाका विषयमा भनिएको छ, ‘उक्त क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम राख्न तत्काल उच्चस्तरीय राजनीतिक एवं कुटनीतिक पहल गर्नुपर्दछ । दुई देशबीचको कुटनीतिक पहलबाट समस्या समाधान नभएमा यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्नसमेत नेपाल सरकारलाई सुझाव छ ।’
भारतले नेपाली भूमि अतिक्रमण गरी नक्सा तयार पारेको विषयमा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, नेपाली नागरिक र सञ्चारमाध्यमलाई एकठाउँमा उभिन आग्रहसमेत समितिले गरेको छ ।

कालापानीलगायतका अन्य सीमा क्षेत्रमा नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।
समितिको बैठकमा पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएका थिए । तर प्रचण्डले अहिले नै यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका थिए ।
बैठकमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सांसदहरुको प्रश्नको जवाफ दिएका थिए ।









