काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको सर्बदलीय बैठकमा नेताहरुले सीमा विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट सुल्झाउन सुझाव दिएका छन् ।
भारतले नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो नयाँ नक्सामा समावेश गर्दा विरोध चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि सर्बदलीय बैठक बोलाएका थिए । बैठकमा सहभागी भएर समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्ष प्रकाशचन्द्र लोहनी, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी बाहिरिएका छन् । बाहिरिएका चारै नेताले नेपाली भूमि कुनै हालतमा छोड्न नहुने र सीमामा देखिएको विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई सुझाव दिएको बताए । 
पूर्वप्रधानमन्त्री भट्टराईले कालापानी, लिपुलेक लगायत नेपाल–भारतबीचको सीमा विवादबारे दुई देशका प्रधानमन्त्रीबीचमै छलफल हुनुपर्ने बताए । ‘विगतमा परराष्ट्र सचिवहरुको आयोग बनाएर वार्ता भए पनि प्रभावकारी भएन’, उनले भने, ‘अब दुई प्रधानमन्त्रीबीच छलफल हुनुपर्छ । राजनीतिक आयोग बनाएर अघि बढ्नुपर्छ ।’ भट्टराईले सीमा विवादबारे वार्ता गर्न अहिले उचित समय रहेको भन्दै ढिला गर्न नहुने र यथेष्ट प्रमाण जुटाउनुपर्ने बताए ।
राप्रपा अध्यक्ष थापाले परराष्ट्र सचिवको बैठक छिटो भन्दा छिटो बोलाउनुपर्ने बताए । सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिरिएपछि पत्रकारहरूसँग अध्यक्ष थापाले भने, ‘सरकारले विज्ञप्ति निकालेर मात्रै पुग्दैन, अतिक्रमित भूमि फिर्ता ल्याउन र कालापानीबाट भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्छ । भारतीय पक्षलाई आफ्ना कुरा भन्नुपर्छ ।’
उनले नेपालको भूमि कालापानी रहेका भारतीय सेना फिर्ता हुनुपर्ने सुझाव बैठकमा आएको जानकारी दिए । नेपालतर्फ सीमा क्षेत्रमा सुरक्षा अवस्था मजबुद बनाउन पनि थापाले सुझाव दिएको बताएका छन् ।
राप्रपा संयुक्तका अध्यक्ष लोहनीले नेपाली भूमि छोड्न नहुने भन्दै सम्वादबाटै निष्कर्षमा पुग्नुपर्ने बताए ।
मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सीमा विवादको न्यायोचित सहमति खोज्नुपर्ने बताए ।









