गण्डकी / नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको कुरा नेपाललाई सह्य नहुने बताएका छन । लिपुलेक, कालापानी नेपालकै भएको उनले दाबी गरे ।

पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले यस विषयमा आफूले विरोध जनाउँदै आएको बताए। आगामी मंसिर १४ मा कास्की क्षेत्र नम्बर २ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनलाई सम्बोधन गर्न पोखरा आएका दाहालले पत्रकार सम्मेलनमा बोल्दै लिपुलेकको विषयमा सरकारले पनि सम्बोधन गरिसकेको बताए।

‘नेकपा पार्टी र सरकार दुवैले आपत्ति जनाएको छ। दुवैको धारण आइसक्यो,’ दाहालले भने, ‘हिजो मात्रै पनि मैले नेपालगञ्जमा गरिएको पत्रकार सम्मेलनमा यही विषयमा बोलेको थिए। आज त सरकारले पनि कुटनीतिक रुपमा बोलिसकेको छ। तत्कालीन अवस्थामा पनि भारत र चीन दुई मुलुकबीच भएको सम्झौतामा लिपुलेक भारतको भन्ने जानकारी आएको थियो। त्यसबेला म भारत भ्रमणमा नै थिए। तत्काल मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा हाम्रो आपत्ति छ। कुनै हालतमा पनि हामीलाई मान्य छैन। तत्काल पुर्नविचार गरियोस भनेको हुँ। अहिले फेरि नयाँ नक्सामा कालापानीसहित समेटेर निकालेको रहेछ। हाम्रो घोर आपत्ति छ।’

उनले नेपाल नै भारतभित्र पार्नु कदापी मान्य हुने दोहोर्‍याए। ‘यो विषय सच्याउनुपर्छ भन्ने हो,’ उनले थपे, ‘अहिले सिंगो राष्ट्र एक ढिक्का छ। कही कसैको विमती पनि हुँदैन। यो नक्सामा हामी नरम भएर लचिलो बन्दैनौं। सरकारले निकालेको विज्ञप्ति कार्यान्वयन हुने छ।’ सरकारले बोलीसकेपछि भारत र नेपालबीच संवाद हुने उनले बताए। कुटनीतिक तवरमा कुरा गर्ने र सरकार चुप नबस्ने उनको भनाइ छ।

यसो त दाहालले कास्की-२ को उपनिर्वाचनको नतिजा नेकपाकै हातमा रहेको बताएका छन्। स्वर्गीय तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सपना नेकपाले नै पूरा गर्ने बताउँदै उनले नेकपा जिल्ला, प्रदेश र संघले निर्विरोध चयन गरेको उम्मेदवार विद्या भट्टराईलाई विजयी गराउन एक ढिक्का भएर कार्यकर्तालाई लाग्नसमेत निर्देशन दिएका थिए। ‘अहिले देशको परिस्थिति भनेको उपनिर्वाचन हो,’ उनले पुनः भने, ‘मुख्यतः प्रदेश र प्रतिनिधिसभाको स्थान रिक्त छ। प्रतिनिधिसभाको एकमात्र उपनिर्वाचन हुने भनेको कास्की २ नै हो।’

प्रदेशको ३ र एउटा महानगरपालिका गरी ५ स्थानमा उपनिर्वाचन हुने बताउँदै उनले कास्कीमा गरिएको मनोनयन दर्ता सफल भएको बताए। ‘दिनको संकेत बिहानले दिन्छ भनेजस्तै निर्वाचनको सन्देश मनोनयनले दिएको छ,’ उनले थपे।

लोकप्रिय नेता अधिकारीप्रति सम्मान प्रकट गर्दै उनले उपनिर्वाचन गम्भीर भएर जिम्मेवारी निभाउन पनि पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे। नेकपाको मिसन भव्य रुपमा सफल हुने बताउँदै उनले मनोनयन दर्तादेखि परिणम निनिस्कने बेलासम्म रातदिन खटिएर काम गर्न पनि उनले अनुरोध गरेका छन्।

‘हामी नमूना बन्नु छ,’ उनले दोहोर्‍याए, ‘कास्की २ बाट देशभर सन्देश दिनु छ। नेकपाको एकता र जनताको नेकपाप्रतिको विश्वास अझै छ। स्थायी राजनीति, समृद्धिको यात्रा बुझाउने दिन आएका छन्।’

केन्द्रीय सचिवालयमा पनि कास्कीलाई प्राथमिकता दिएको उनले बताए। गम्भीर भएर विचार गरिएको र सोहीअनुसारको निर्णय भएको उनले बताए। भयरहित, स्वच्छ र इमान्दरीताका साथ लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार उपनिर्वाचनले लोकतान्त्रिक अभ्यासको नयाँ आयाम स्थापित गर्ने छ।

तपाईको प्रतिक्रिया