

उदयपुर । थारु पत्रकार संघ नेपाल उदयपुर शाखाको प्रथम जिल्ला अधिवेशनबाट सुखिलाल चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमातिबाट चयन भएको छ ।
शनिबार थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज कुलदिप चौधरीको प्रमुख अतिथ्य तथा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी र थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीको विशिष्ट अतिथ्यतामा गाईघाटमा सम्पन्न प्रथम अधिवेशनबाट सुखिलाल चौधरी चौधरीको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष चौधरी नागरिक बहस डट कम अनलाइनका संचालक, जनता टेलिभिजन, जनता समाचार डट कम, जनता रेडियो र पूर्वेली न्यूज डट कमको सम्वाददाताको साथै बरुवा टाइम्स दैनिक उदयपुरका उपसम्पादक हुन् ।
यस्तै संघको उपाध्यक्षमा दिपु चौधरी, सचिवमा दुर्गानन्द चौधरी (डिएन), सहसचिवमा रेनुका चौधरी, कोषाध्यक्षमा श्रवण कुमार चौधरी चयन भएका छन् । सदस्यहरुमा भाष्कर चौधरी, मेनुका चौधरी, दुर्गानन्द चौधरी, ममता चौधरी, विना चौधरी र कविता चौधरी चयन भएका छन् । अधिवेशनले अग्रज पत्रकार रविन्द्र चौधरी र विष्णुदेव चौधरी र थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष शिवकान्त चौधरीलाई सल्लाहकार समितिमा चयन गरेको छ ।
अधिवेशन उद्घाटनको क्रममा केन्द्रीय सदस्य तथा प्रमुख अतिथि चौधरीले इमान्दार र सोझो जातिभित्र पर्ने थारु समुदायलाई राज्यले सदियौंदेखि अपहेलित गर्दै आएकोमा दुखेसो गर्दै सशक्त आवाज उठाउन थारु पत्रकारहरु जुरमुराउनु पर्ने बताए । संख्यात्मक हिसावले देशको चौथो ठूलो हिस्सा ओगटेको थारु समुदायलाई शैक्षिक, आर्थिक, राजनीतिक र सामाजिक हिसावले जानीजानी राज्यबाटै पछि पारिएको भन्दै पहिचान, समावेशीता र समानताको पक्षमा र अन्याय तथा असमानता, अपहेना विरुद्ध खुलेर कलम चलाउनु पर्ने खाँचो औंल्याए । प्रमुख अतिथि चौधरीले थारु समुदायको हक अधिकार सुनिश्चि गर्नको लागि थारु अगुवाहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिए । उनले भने, ‘थारु समुदायको हक र अधिकारका लागि समावेशी सञ्चार र यसको अनिवार्यता नै आजको आवश्यकता हो । हामी सबै मिलेर यसको लागि आवाजविहीन आवाजहरुलाई विभिन्न सञ्चार माध्यमबाट आम जनतामा पुर्याउनु जरुरी छ ।’
विशेष अतिथि त्रियुगा नगर उपप्रमुख देवीकुमारी चौधरीले हजारौं वर्षको इतिहास बोकेको भूमिपुत्र थारु समुदाय आफ्नै थातथलोमा पनि वर्षौंसम्म दास र कमलरी भएर बिताउनु पर्ने अवस्था आउनुमा राज्यको कमजोरी औंल्याईन् । संघीयता र गणतन्त्र प्राप्तीपछि पहिचान र अधिकारको ढोका खुलेको भन्दै उपमेयर चौधरीले संविधानमा लिपिबद्ध अधिकारको कार्यान्वयन गर्नसके थारु समुदाय अहिले भन्दा ३ कदम अघि बढ्ने बताईन् । उनले भनिन् ‘तर, संविधान कार्यान्वयन हुनेमा शंका छ, राज्य स्वयं कार्यान्वयनमा बाधा खडा गर्दैछ, हामी थारुहरु पनि धेरै कमजोर छौं, अव राज्यले यसमा ध्यान दिनुपर्छ, हामी पनि सुध्रिनुपर्छ ।’ उपप्रमुख चौधरीले नयाँ निर्वाचित पदधिकारीहरुलाई सफल कार्यकलको शुभाकामना दिँदै थारुको पहिचान र प्रतिनिधित्वको लागि देशभारका थारु पत्रकारहरु एकजुट हुनु पर्ने बेला आएको बताए । उनले भने, ‘थारु पत्रकारहरुले थारुको पहिचान, संस्कृति, हक अधिकारका लागि विभिन्न सञ्चारमाध्यमबाट कलम चलाउन आग्रह गर्दछु ।’
अधिवेशनलाई विशेष अतिथि शिवकान्त चौधरी, त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष निर्मल कुमार चौधरी, वडा नं. १३ का वडाध्यक्ष पशुपति चौधरी, थारु युवा सभाका जिल्ला अध्यक्ष दुलिराम चौधरी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार महेश्वर चाम्लिङ, रेडियो प्रशारण संघका केन्द्रीय कोषाध्यक्ष नविन राई र आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) उयदपुरका सचिव इश्वर बलम्पाकी मगरले स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारीतामा जोड दिदै प्रेस विरोधी गतिबिधि विरुद्ध सशक्त आवाज उठाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम सुखिलाल चौधरीको अध्यक्षतामा भएको थियो भने संचालन दुर्गानन्द चौधरी (डएन चौधरी) र स्वागत भाष्कर चौधरीले गरेका थिए ।









