लामिछानेलाई पाँच लाख, युवाराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ भने अर्का अभियोगी रुकु भन्ने अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिए। पुडासैनी आत्महत्या प्रकरणमा तीन जना विरुद्ध आइतबार चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो। आइतबार मुद्धा दर्ता भएपछि भने एक अभियोगी अस्मिता कार्कीको मात्र बयान लिने काम सकिएको थियो। सोमबार कार्यालय समय सुरु भएपछि लामिछाने र कँडेलको बयान लिइएको थियो। तर लामिछानेलाई देश वाहिर जाँदा अदालतको अनुमति लिनु पर्ने आदेश दिएको छ ।
थुनछेक बहसमा वादीकोतर्फबाट जिल्ला न्यायधिवक्ता यदुनाथ शर्मा, सहायक न्यायधिवक्ताहरु प्रकाश थापा, सानुबाबु श्रेष्ठ, चितवन बारका निवर्तमान अध्यक्ष गोपिलाल देवकोटा, पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ, स्वागत नेपालले बहस गरेका थिए। बहसमा आरोपितलाई पाँच वर्ष कैद र पचास हजार रुपैयाँ जरिवानाको माग दाबी गरिएको थियो। लामिछाने र कँडेलको तर्फबाट सुशिल पन्त, चुडामणी सापकोटा, सुनिल पोखरेल, राजु थापा, अस्मिता कार्कीको तर्फबाट छायाँ चन्द, फुलमाया रानाभाट, रामगोपाल श्रेष्ठ, कल्पना उप्रेती लगायतले बहस गरेका थिए। लामिछानेको रिहाईसंग उनका समर्थकहरुले सत्यको जित भएको भन्दै खुसियाली मनाउन थालेका छन् ।










