काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई भेटेका छन् । महानिरीक्षक खनालले शुक्रबार दिउँसो चितवन प्रहरीको हिरासतमा रहेका रवि र युवराजलाई भेटेका हुन् । प्रहरी अधिकारीका अनुसार चितवन हुँदै पश्चिमी क्षेत्रका प्रहरी कार्यालयको भ्रमणमा निस्केका उनले हिरासतमा रहेका दुवैलाई भेटेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए । साथै खनालले असुरक्षित भएको महशुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए । चितवन प्रहरीको निरीक्षण भ्रमणका क्रममा खनालले हिरासत कक्षको निरीक्षण गरेका थिए। त्यही क्रममा उनले रवि र युवराजलाई भेटेका हुन् ।
कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछाने र पत्रकार कँडेल शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा छन् । पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
शुक्रबारै महानिरीक्षक खनालले नवलपरासी प्रहरीको पनि निरीक्षण गरेको नेपाल प्रहरीका सह–प्रवक्ता उमेशराज जोशीले बताए ।

तपाईको प्रतिक्रिया