सुखिलाल चौधरी, उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँमा १३ वर्षीया बालिका एल्जिना खड्का मृत फेला परेपछि घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । बालिका बलात्कारपछि हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटको नेतृत्वमा टोली परिचालन गरेको हो ।
डीएसपी रानाभाटको टोली आईतबार मध्यरातमा घटनास्थलमा पुगेको र धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली झिकाउँदा ढिला भएकाले आईतबार राति २ बजे सदरमुकाम गाईघाटबाट पठाइएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए । राईले भने, ‘डीएसपीको टोलीले अनुसन्धान सुरु गरेको छ, थप मद्दतका लागि गएको तालिम प्राप्त कुकुर आज सोमबार घटनास्थल पुगिसकेको छ ।’
प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर सुक्ष्म ढंगले अध्ययन सुरु गरेको एसपी राईले बताए । घटना शंकास्पद भएकै कारण तालिम प्राप्त कुकुर परिचालन गरिएको राईले जानकारी दिए । शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी आईतबार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी थिइन् । साँझसम्म बालिका घर नफर्केपछि स्थानीयले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बजे बालिकाको शव फेला पारेको एसपी राईले जानकारी दिए ।
घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तरी विकट क्षेत्रमा पर्दछ । चप्पल भन्दा करिब १ सय मिटरमाथि सालको रुखमुनि शव रहेकाले हत्या नै गरेको हुन सक्ने प्रहरीको पनि दावी छ । बलात्कारपछि घटना सार्वजनिक हुने डरले बालिकालाई मारेको हुन सक्ने अनुमान गरिएको छ । खड्काका आफन्तले प्रहरीलाई दिएको स्रोतअनुसार केहि व्यक्तिमाथि आंशका गरी अनुसन्धान सुरु गरेको छ ।
यस्तो छ घटना
मृतकका बुवा दुर्गाबहादुर केही दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते त्रियुगा नगरपालिका–७ चुहाडेस्थित घरमा आराम गरेर बसिरहेका थिए । भाइटीका लगाइदिन लाफागाउँमै रहेको माइती घर सानो नानीसहित गएकी आमा पुनम फर्केकी थिइनन् ।
बुवा आमा घरमा नभएपछि जनता मावि लाफागाउँ कक्षा–९ मा पढ्दै गरेकी १३ वर्षीया एल्जिना शनिवार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा चराउँदै थिइन् । कक्षा १० मा पढ्दै गरेकी जेठी दिदी र कक्षा ९ मा पढ्ने भाइ भैँसी र घरको अरू काम गर्ने बताएपछि माहिली छोरी एल्जिना बाख्रा लिएर जङ्गल गएकी थिइन् ।
गाउँपालिकाको केन्द्र भुट्टार जाने सडक छेउको खर बारी भएकाले कसैले चासो दिएनन् । सडकबाट १५० मिटर पर रहेको त्यही खरबारीस्थित सालको रुखमुनि उनी मृत फेला परिन् ।
‘कतै लडेर घाइते भई जस्तो लागेको थियो, तर त्यसो नभई बलात्कार गरेर मारिएको अवस्थामा फेला परी’, खड्काका आफ्न्तले भने, ‘रातभर टाढा–टाढासम्म पुगेर खोजियो, कतै फेला नपरेको अवस्थामा गाउँनजिकै शव फेला पा¥यौँ । उनका अनुसार बालिका खरबारीस्थित सखुवाको रुखमुनि मुखमा हात पुछ्ने कागज खाँदिएको अवस्थामा भेटिएका हुन् । ‘घाँटीमा नङ्ग्राइएको छ, छाला कोतरेको छ, कुर्था सुरुवाल खोलिएको छ, बलात्कारपछि हत्या नभए के हुन सक्छ ?’, उनले भने ।

तपाईको प्रतिक्रिया