काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रतासँग गासिएको प्रष्ट्याउनु भएको छ । ‘प्रेस स्वतन्त्रता पत्रकारको लागि मात्र होइन, यो महासंघले मात्र उठाउनुपर्ने पर्ने पनि होइन’ मिडिया काउन्सिल विधेयकबारे महासंघद्वारा शुक्रबार आयोजित छलफलमा उनले भने, ‘ प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रतासँग गासिएको छ । प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा सानो बाटो हो, पुल मात्र हो ।’
प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले सरकारले आफूले गरेको गलत कार्य ढाकछोप गर्न र आलोचना रोक्ने उदेश्यले मिडिया काउन्सिल विधेयक ल्याएको बताए । ‘मन्त्रीहरुले बोलेका अभिव्यक्तिविरुद्ध कुनै टिकाटिप्पणी नहोस् भनेर विधेयक ल्याइएको छ’ उनले भने, ‘सामाजिक सञ्जालमा भइरहेको बिकृति देखाएर पत्रकारितालाई पछार्न खोजिएको छ । ‘सामाजिक सञ्जालको बिकृति देखाएर पछार्दा पत्रकारिता घाइते हुन्छ ।’
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले यसअघिका सरकारले पनि प्रेस स्वतन्न्ता खुम्याउने प्रयास गरेको स्मरण गराएका थिए । ‘अहिले मात्र होइन, यसअघिका सरकारले पनि मिडियाविरुद्ध लक्षित विभिन्न ऐन ल्याएका छन्’ उनले भने, ‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा विद्युतीय कारोबार ऐन आयो । पत्रकारले त्यसको विरोध गरे । तर त्यसबेला यो ऐन तपाईहरुको विरुद्धमा होइन भनियो । पत्रकारलाई अहिले सबै भन्दा त्यही विधेयकले सताएको छ । पत्रकारलाई विद्युतीय कारोबार ऐन लगाएर पक्राउ गर्ने र थुन्ने गरिएको छ । त्यसपछि सुशील कोइराला सरकारले अदालत सम्बन्धी ऐन आयो । अदालतबारे केही लेख्न नपाइने बनाइयो । त्यसपछि शेरबहादुर देउवा सरकारले मुलुकी संहित ल्याएर प्रेस स्वतन्ता संकुचन पार्ने प्रयास गर्यो ।’
मिडिया काउसिन्ल विधेयकविरुद्ध महासंघले चौथो चरण आन्दोलन तयारी गरेको छ । महासंघले अहिले विभिन्न पक्षसँग सुझाव लिइरहेको छ । महासंघका महासचिव रमेश बिष्टले काउन्सिल विधेयक विरुद्ध सडक आन्दोलनमा जाने पत्रकारहरुको चाहना नरहेको उल्लेख गर्दै सरकारले त्यसमा बाध्य पार्न नहुने बताए ।

तपाईको प्रतिक्रिया