
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई/उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकताको प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
प्रचण्डले माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समेत त्यसमा सहमत गराइसकेको दाबी स्रोतको छ । स्रोतका अनुसार अनौपचारिक च्यानलमार्फत प्रचण्ड–बाबुराम–उपेन्द्रबीच एकता वार्ता अघि बढेको छ । यद्यपि त्यसबारे दुवै पक्षले केही बताएका छैनन् ।
पार्टीको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद उल्लेख गरेर जानुपर्ने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको प्रस्तावपछि प्रचण्ड झस्किएका छन् ।
उनले दुई पार्टीबीच एकता गर्दा भएको सहमतिअनुसार तत्कालको पार्टीको अन्तरिम कार्यदिशा ‘समावजाद उन्मुख जनताको जनवाद’ हुनुपर्ने मा माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समेत सहमत गराएका छन् ।
उनीहरुकै असहमतिका कारण शुक्रबारको सचिवालय बैठकमा ओलीले गरेको बहुदलीय जनवादको प्रस्तावमा सहमति जुट्न सकेन । यस्तै आलोपालो सरकारको नेतृत्वबारे पनि ओली–प्रचण्ड विवाद सतहमै आएको छ ।
सार्वजनिक भएको गोप्य दस्तावेजले पाँच वर्षे कार्यकालमा सरकारले नेतृत्व दुई नेताले आलोपालो गर्नेबारे बोलेको छ । तर, प्रधानमन्त्रीको टिमका केही सदस्यले भने त्यस्तो सहमति हुँदै नभएको बताउँदै आएका छन् ।









