उदयपुर । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरूको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, उदयपुर मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भरत खड्का नेतृत्वको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का मार्फत् सरकारलाई सो विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरूको हस्ताक्षर बुझाएको हो ।
महासंघले सो विधेयक फिर्ताका लागि दबाब दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरूको हस्ताक्षर अभियान संकलन गरेको थियो । सोही हस्ताक्षर शुक्रबार देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो ।
महासंघले सो विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । प्रेसमाथि अंकुश लगाउने गरी आएको सो विधेयक फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहने पनि महासंघका अध्यक्ष खड्काले बताए ।









