उदयपुर । त्रियुगा नगरपालिका कार्यालय परिसरमा शुक्रबार बिहान नक्कली कुकर बम फेला परेको थियो । बिहान ५ बजे सफाइ कर्मचारीले नगर परिसर बढार्ने क्रममा भेटिएको झोला उठाउँदा भित्र कुकर देखेपछि शंका लागेर नगर सुरक्षा कर्मचारीलाई जानकारी गराएका थिए ।
कार्यालय परिसरभित्र छिरेर दाहिनेपट्टि कुनामा भेटिएको रातो रंगको झोलामा टेपले बाँधेको कुकर भेटिएको थियो । प्रहरी टोलीले शंकास्पद वस्तुलाई सुरक्षित गर्दै डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेका थिए ।
त्रियुगा नगरपालिका–३, भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डाबाट खटेको डिस्पोजल टोलीले शंकास्पद वस्तु नियन्त्रणमा लिई डिस्पोज गराउँदा कुकरभित्र कपडाका टुक्रा, पिठोको लेदो, केही टुक्रा तार र टेप मात्र फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
घटनाबारे अनुसन्धान सुरु भइसकेको तर, हालसम्म कोही पक्राउ भने नपरेको उनको भनाइ छ । ‘नगरपालिका परिसरमा नक्कली बम राखेर आतंक मच्चाउने उद्देश्य लिएको देखिन्छ,’ एसपी मगरले भने, ‘हाम्रो टोली अनुसन्धानमा जुटेको छ ।’ उनले झोला अघिल्लो दिननै राखेको हुन सक्ने बताउँदै सिसी क्यामेराको फुटेजहरू अध्ययन भइरहेको बताए ।









