इटहरी । पत्रकार विराट अनुपम गौतमले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई फोन गरेर उत्तेजित गराएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको छ । महासंघको मिसनले मेयर चौधरीको समेत कमजोरी औंल्याएको छ ।
इटहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको समेत पत्रकार महासंघको रिपोर्टमा उल्लेख छ ।
इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरुको अध्ययन गरी रिपोर्ट पेश गर्न पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते मोहनकाजी न्यौपानेको संयोजकत्वमा एउटा मिसन टोली गठन गरेको थियो । टोलीले मंगलबार प्रतिवेदन बुझाएको छ ।
मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा भनिएको छ ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।’
मिसनको सुझावमा भनिएको छ, ‘पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्या्दित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ ।’
विभिन्न समयमा कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ ।
अनुगमनका क्रममा मिसन टोलीले इटहरी उपमहानगरपाकिलाका मेयर द्वारिकलाल चौधरीसँग पनि भेट गरेको थियो । यसक्रममा चौधरीले आफूबाट गल्ती भएको भए कान समातेर उठबस गर्न तयार रहेको बताएका थिए । मिसनले मेयरको समेत कमजोरी देखाएको छ ।
चौधरीसँग भएको छलफल उधृत गर्दै मिसनको प्रतिवेदनको सारांशमा भनिएको छ, ‘द्वारिकलाल चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेकाले सार्वजनिक स्थलमा गएर कान समातेर सय पटक उठबस गर्न पनि तयार रहेको बताएका छन् ।’

प्रतिवेदनले पत्रकार एवं सञ्चार जगतले लेखेको र प्रश्न सोधेको आधारमा अनावश्यक आवेग, उत्तेजना र दुव्र्यवहारमै उत्रने कमजोरी मेयर चौधरीले सुझार गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, पत्रकारिता पेशाको मर्यादा र विश्वसनीयता कायम गराउनका लागि सम्पुर्ण सञ्चारकर्मीहरुलाई पुुर्णरुपले आचारसंहिता पालना गराउन, पत्रकारको सुद्धिकरण गर्न, पित पत्रकारितालगायतका विकृति नियन्त्रण गर्न, दक्षता बढाउने बिशेष तालिम सञ्चालन गर्न पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाले बिशेष योजना ल्याउन पनि सुझाव दिइएको छ ।
हेर्नुहोस् प्रतिवेदनको सारांश –

तपाईको प्रतिक्रिया