काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई डौडधुप छ। उनी एक महिने जनसंवाद यात्राका क्रममा देशभरका जिल्लामा पुगेका छन्। मध्यपहाडी लोकमार्गको उद्गमथलो नेपाल भारतको सिमाक्षेत्र चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा फागुन १५ गते बैतडिको झुलाघाटमा पुगेर टुंगिने बताइएको छ।
डा. भट्टराई दाैरा, सुरूवाल, काेट र टाेपी अनि एडिडाज जुत्ताकाे पाेशाकमा ठाँटिएर कर्णाली प्रदेश पुगे । यहि बिषयले अहिले सामाजिक संजाल तातिएको छ। नेकपाका केन्द्रीय सदस्य समेत रहेका युवा नेता सूर्य थापाले समेत आफ्नो फेसबुकमा डा.बाबुराम भट्टराईको पोशाकको चर्चा गर्दै दौरासुरुवाल नयाँशक्ति पनि छाड्ने पूर्वाभ्यास त होइन ? नेता थापा लेख्छन-‘तपाईले नयाँ र नाैलाे भनिरहँदा कुन दिन नयाँ शक्ति पार्टी समेत छाडेर वा विघटन गरेर अर्काे नयाँकाे खाेजीमा जुट्नुहुने हाे ?
थापाले फेसबुकमा शेयर गरेको उनको स्टाटस यस्तो छ :
भूतपूर्व कामरेड एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू,नमस्कार ।कर्णाली प्रदेश प्रवेशकाे क्षणमा दाैरा,…
Posted by Surya Thapa on Wednesday, 20 February 2019
भूतपूर्व कामरेड एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू,
नमस्कार!
कर्णाली प्रदेश प्रवेशकाे क्षणमा दाैरा, सुरूवाल, काेट र टाेपी अनि एडिडाज जुत्ताकाे पाेशाकमा ठाँटिएकाे देखें । खुशी लाग्नुपर्ने बेग्लै कारण हाेइन, क्रमशः बदलिनु भएकाेमा सामान्य नै लाग्याे । तपाईकाे बाैद्दिकता, सरलता, गंभीरता, निरन्तर अध्ययनशीलता, सरकार प्रमुख हुँदा काठमाडाैकाे बाटाे फराकिलाे पार्न तथा अर्थमन्त्री हुँदा राजश्व बढाउन लिनुभएका निर्णय र गर्नुभएका कठाेर मेहेनत स्मरणीय, स्तुत्य र ऐतिहासिक थिए ।
तर अाज तपाईंको प्रधानमन्त्रीकाल डा. केअाई सिहकाे कालजस्तै भइरहेकाे छ । मदन राई, करिष्मा मानन्धरअादि तपाईका अहिलेका सहयाेद्दाहरूले नयाँ शक्ति नेपाललाई साच्चिकै वैकल्पिक शक्ति बनाउने छन् त ? तपाईं कर्णाली प्रदेशतर्फ लाग्नुभएपछि रसुवामा प्रदेशसभा सदस्य र जिल्ला अध्यक्षसहित तपाईकाे पार्टी नै रित्तिन थालेकाे खबर छ । संगत गुनाकाे फल भनेकाे सायद यही हाेला ! २०७४ सालकाे निर्वाचनमा तपाईले जुन कागती राेप्नुभएकाे थियाे, त्यसमै फल लाग्न थालेछ क्यार ? कागती राेपेर सुन्तला फल्ने त कुरै थिएन र भएन । संभवत: याे प्रचण्डसँगकाे अन्तरसंघर्षकाे परिणति हुनुपर्दछ । मार्क्सवाद परित्याग गरेपछि यहाँ पुग्ने निश्चितप्राय: नै थियाे ।
याे पाेशाक कर्णाली प्रदेशकाे मात्र हाेइन, तपाईका बाजेबराजु, छिमेकी गुरूङ, मगर, पूर्वका राई, लिम्बू, काठमाडौं वरिपरिका तामाङ र कर्णाली अनि सुदूर पश्चिमका खस सबैजसाेका पुर्खाहरूले याे पाेशाक लगाउने गर्दथे । जहाँसम्म तपाईले लगाएकाे ढाकाटाेपी छ, याे नेहरू टाेपीबाट प्रभावित भई दिल्ली संझाैतापछि स्वदेश फर्कदा राजा त्रिभुवनले पहिलाेपल्ट लगाउन शुरू गरेर गाैचरन एयरपाेर्टमा ढाका टाेपी लगाएर अाएकाे पाइन्छ । त्यसअघि यहाँ भादगाउँले कालाे टाेपी र गाउँगाउँमा सूचीकारले सिलाएका टाेपी लगाइन्थे ।
जहाँसम्म तपाईले अर्थमन्त्री र प्रधानमन्त्री हुँदा लगाउनु भएकाे सुट टाई हाे, नेपालमा त्यसकाे प्रयाेग राणाहरूले गरेका हुन् । र, विश्वविख्यात कम्युनिस्ट घाेषणापत्र अनुवाद गरिसकेपछि कामरेड पुष्पलालसँग भेट हुँदा व्यापारी जुद्दबहादुर श्रेष्ठले भनेका थिए रे- “तपाईं हामीलाई त्यसै राणाकाे पक्षधर भन्नुहुन्छ, याे राणाशासन गएपछि सुट टाईमा ठाँटिएर हिड्न हामीलाई रहर छैन ?”
मार्क्स- एङ्गेल्स लिखित कम्युनिष्ट घाेषणापत्र (सन्१८४८) नेपाली भाषामा पहिलाे अनुवाद छाप्न तिनै जुद्दबहादुरले नै विसं २००५ सालमा पुष्पलालले ३००/- माग्दा ५०० /- रूपियाँ उपलब्ध गराएर पार्टी स्थापनाअघि २००५ साल चैतमा प्रकाशित भएकाे थियाे ।
अर्थात्, तपाईकाे देश गुनाकाे वेष ! भन्ने टिप्पणी इतिहास, परम्परा, प्रचलनभन्दा भिन्न मनाेगत रहेकाे तथ्य अवगत गराउन चाहन्छु । फेरि तपाइले नाैलाे र नयाँ भन्ने पदावली गर्दा अनाैठाे लाग्ने गर्छ ।
किनभने, नाैलाे जनवाद भनेर जनयुद्धकाे नेतृत्व गर्नुभयाे, संसदीय लाेकतान्त्रिक गणतन्त्रमा अवतरण गर्नुभयाे । नयाँ नेपाल बनाउने भन्नुभयाे, तर पुरानै नेपालकाे स्वाधीनता र हितविरूद्द विप्पा संझाैता थाेपरेर ” जुवा” खेल्नुभयाे । नयाँ संविधान बनाउन संबैधानिक समितिकाे नेतृत्व गरेर सारा प्रक्रियामा संलग्न हुनुभयाे, तर २०७२ असाेज ३ गते नयाँ संविधान जारी भएपछि अाश्चर्यजनक रूपमा त्यसकाे विराेध गरेर तत्कालीन माअाेवादी नै परित्याग गर्दै मधेसतिर भर्त्सनामा जुट्नुभयाे ।
अनि नयाँ शक्ति पार्टी नेपाल बनाउनु भयाे । जसकाे नयाँपन २०७४ काे प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा देखिइहाल्याे !?
तपाईले नयाँ र नाैलाे भनिरहँदा कुन दिन नयाँ शक्ति पार्टी समेत छाडेर वा विघटन गरेर अर्काे नयाँकाे खाेजीमा जुट्नुहुने हाे ? प्रश्न उठिरहेछ । नयाँ पाेशाक त्यसकै पूर्वाभ्यास त हाेइन ?
जय देश, जय कर्णाली !
(सूर्य थापा नेकपाका केन्द्रीय सदस्य हुन् ।)









