सप्तरी/भारतीय नागरिकलाई नेपाली नागरिकता बेच्न खोजेको आरोप लगाउँदै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १४ का वडा अध्यक्षसहित ४ जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ ।
वडा अध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, स्थानीयवासी विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय नागरिक राजाराम यादवविरुद्ध स्थानीय कपलेश्वर यादवले उजुरी दर्ता गराएका हुन् ।
वडाअध्यक्ष र सचिवले पैसाको लोभमा कीर्ते कागज खडा गरेर भारतको सुपौल जिल्ला, सातैनपट्टि छतौनी ग्रामपञ्चायत वडा नं. ३ निवासी बद्री यादवका १८ वर्षीय छोरा राजारामलाई महेश्वर यादवको नाममा नागरिकता दिने तयारी गरेको उजुरीमा उल्लेख छ ।
तत्कालीन मलहनियाँ गाविस– ३ (हाल हनुमाननगर १४) का विन्देश्वरी यादवलाई बाबु वनाई स्थानीय तहबाट नागरिकता दिने सम्पूर्ण तयारी पूरा भइसकेकोले संलग्न व्यक्तिलाई कारबाही गर्न पनि उजुरीमा माग गरिएको छ ।
उजुरीका साथमा भारतीय नागरिकलाई नागरिकता दिन गत साउन १३ गते वडा कार्यालयमार्फत तयार गरिएको जन्मदर्ताको प्रमाणपत्र तथा नागरिक्ताका लागि सिफारिस गरिएको अनुसुची फारमको नक्कलसमेत संलग्न गरिएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उजुरीमा उल्लेख भएअनुसारको नागरिकता जारी नगर्न कर्मचारीलाई निर्देशन दिएको बताए । ‘उजुरीका आधारमा नागरिक्ता जारी भइसकेको छैन, त्यसको फाइल पनि कार्यालयमा आइपुगे÷नपुगेको जानकारीमा छैन,’ उनले भने, ‘तत्काललाई त्यस्तो फाइल आए, नागरिकता जारी नगर्न भनेको छु ।’