उदयपुर, झट्ट हेर्दा पूर्वकै प्रसिद्ध पर्यटकीय स्थल भेडेटार जस्तै लाग्ने, घन्टैपिच्छे मौसम परिवर्तन भइरहने र हिमाल, पहाड र तराईका सुन्दर दृश्य अवलोकन गर्न सकिने उदयपुरको कटारी नगरपालिका वडा नं ११ स्थित बेतिनी भन्ज्याङ प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । नेपालकै प्रसिद्ध पर्यटकीय स्थल भेडेटार बराबरकै उचाई र समान मौसमी अबस्था हुँदा हुँदै पनि सरोकारवाला निकायको वेवास्ताले यो क्षेत्र ओझेलमा परेको हो ।
एकैछिनमा घाम लाग्ने, कुहिरो आउने र पानी पर्ने बेतिनी भन्ज्याङको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तर्फ आजसम्म कसैले चासो नगएको स्थानीयको भनाई छ । यहाँको बजार व्यवस्थापन गरेर पर्यटकहरुलाई खान र बस्नका लागि व्यवस्थित होटेल र लजको व्यवस्था गर्न र प्रचारप्रसार गर्न सके बेतिनी भन्ज्याङ दोस्रो भेडेटारको रुपमा अगाडि बढ्न सक्ने उनीहरु बताउँछन् । यातायातका साधन चलेकाले सिजनअनुसार पोलेको मकै, सुन्तला, काँक्रा, कागती, निबुवा, करेला, बदाम बिक्री गर्नेको संख्या भने निकै रहेको छ ।
“पर्यटकीय क्षेत्रको रुपमा विकास गरे प्रसस्त लाभ लिन सकिने यो क्षेत्रको विकास हुन सकेको छैन” कटारी बजारका रामकुमार राईले भने, “पर्यटकीय स्थलको रुपमा विकास गरेर प्रसस्त लाभ लिन सकिने यो क्षेत्र हरेक हिसावबाट महत्वपूर्ण हुँदा हुँदै पनि ओझेलमा परेको छ ।” भेडेटार जत्तिकै सुन्दर, मनमोहक र रमणीय भएर पनि ओझेलमा परिरहनु कटारी क्षेत्रकै दुर्भाग्य भएको राईको भनाई छ ।


“एकैछिनमा घाम लाग्ने, एकैछिनमा कुहिरोसँगै पानी पर्ने बेतिनी भन्ज्याङ पर्यावरणीय हिसावले समेत महत्वपूर्ण छ ” स्थानीय अवी लामिछानेले भने, “ तर, यहाँ अनुसन्धान गर्न कोही आएका छैनन् ।” बेतिनीलाई पर्यटकीय स्थलको रुपमा विकास गरेर आन्तरिक तथा बाहिय पर्यटन प्रवद्र्धन गर्ने तर्फ आजसम्म कसैले चासो नदिएको उनको गुनासो छ ।
पूर्व क्षेत्रकै पुरानो व्यापारिक बजार कटारीदेखि सिद्धिचरण राजमार्ग हुँदै पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी महादेवस्थान मन्दिरको दर्शन गर्न बर्षेनी हजारौ सर्वसाधारण बेतिनीकै बाटो हुँदै आवतजावत गर्छन् । कटारी बजारबाट २२ किलोमिटर उत्तर सिद्धिचरण राजमार्गमै पर्ने बेतिनीमा एकछिन नरोकिने र अवलोकन नगर्ने यात्रु कमै हुन्छन् । तर, होटेल तथा लज र अन्य पूर्वाधारको अभावमा चाहेर पनि उनीहरुले बास बस्न सक्दैनन् ।

“बेतिनीबाट सगरमाथा लगायतका हिमाल र नेपाल तथा भारतका तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ” कटारी नगरपालिका ११ का वडाध्यक्ष दीपक बुढाथोकी भन्छन्,“यो भेडेटारजस्तै पूर्वकै महत्वपूर्ण पर्यटकीयस्थल हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि वडामा आउने बजेटबाट पूर्वाधार तयार गर्न नसकेको अबस्था छ ।” नगरपालिकाबाट वडामा आएको बजेटले भ्यूटावर निर्माण गर्ने तयारी भइरहेको उनको भनाई छ ।
पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको नेपालका पर्यटकीय क्षेत्रहरुको सुचीमा बेतिनीको नाम समावेश गरिएको छैन । हरेक दृष्टिकोणबाट महत्वपूर्ण भएर पनि पर्यटकीय क्षेत्रको सुचीमा नपर्नुृ यस क्षेत्रकै दुर्भाग्य भएको स्थानीयको गुनासो छ । कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ नगरपालिकाले बेतिनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले बृहत गुरुयोजना निर्माणको तयारी गरेको बताउँछन् ।

“ पर्यटकीय क्षेत्रको सुचीमा परेको भए विकासका लागि अन्य सरोकारवाल निकायको पनि सहयोग हुन्थ्यो” उनी भन्छन्न्“ तर त्यो हुन नसकेपछि स्थानीय निकायबाटै यसको पूर्वाधार विकासमा लगानी गर्ने मनस्थिति बनाएका छौ ।” यो सँगै लगानीका लागि अन्य निकायको समेत खोजी गरिने श्रेष्ठ बताउँछन् । पछिल्लो समय केन्द्रीय सरकार र प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पहिचान र विकास गरी पर्यटन प्रवद्र्धनका माध्यमबाट रोजगारीका अवसर सृजना गर्ने र गरिवी घटाउने नीतिलाई प्राथमिकतामा राखेका छन् ।
तर नीति र कार्यान्वयन नमिल्दा बेतिनीजस्ता महत्वपूर्ण स्थानहरु ओझेलमा परिरहेका छन् । “मुलुकको विकास र सर्वसाधारणको आर्थिक समृद्धिका लागि पर्यटन नै मूल आधार हो”उदयपुर जिल्लाका पर्यटकीय क्षेत्रहरुको अध्ययन गरिरहेका जिल्लाका वरिष्ठ संचारकर्मी कौशल चेमजोङले भने,“ केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैको साझेदारी भए मात्रै यस्ता क्षेत्रको चाडो विकास गर्न सकिन्छ ।” तर, सरोकारवाला निकायले बेवास्ता गर्दा यस्ता महत्वपूर्ण क्षेत्रहरु बर्षौदेखि ओझेलमा परिरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया