उदयपुर – नेकपा एकीकृत समाजवादी पार्टी उदयपुरले नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस मनाइएको छ । पार्टी कार्यालयको सभा हलमा कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
७५ वर्षअघि २००६ साल वैशाख ९ गते भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगाएतका नेताहरु पनि जोडिएका थिए ।
नेपालमा जहानियाँ राणा शासन रहेको बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई सही विचार, नीति, कार्यशैली र संस्कारको आधारमा एकताबद्ध हुनु पर्ने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणि पोखरेलले बताए ।
विगतका वामपन्थी एकता र ध्रुवीकरणको प्रसंग कोट्याउँदै उनले भने, ‘नेकपा फुटाउनमा २०१९ सालमा केशर जंग रायमाझी लागे परे त्यसरी नै २०७७ मा दुई तिहाइको सरकार भएको नेकपा पार्टी फुटाउन केपी शर्मा ओली पार्टी फुटाउन लागि परेको हो ।.’
उनले आगामी दिनमा नेकपा एकीकृत समाजवादी एकल चुनावी प्रतिष्पर्धामा उत्रिने बताए । आगामी चुनावहरुमा नेकपा एकीकृत समाजवादीको कलम चिन्ह चुनावी मैदानमा जाने बताए । संगठन निर्माणको क्रममा लाग्न सवै तहका कार्यकर्ताहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य सुनिता चौधरी, केदार राई लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन सचिव विनोद खड्काले गरेका थिए ।