उदयपुर/उदयपुरमा एक जनाले पार्टीको आस्था कहिल्यै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशी नदीमा वेपत्ता भएका छन् । नेकपाका कार्यकर्ता रहेका बेलका नगरपालिका–४ का ५२ वर्षिय ज्ञानेन्द्र आचार्य शनिबार साँझ सप्तकोशीको चतरा पुलबाट हाम फालेर वेपत्ता भएका हुन् ।
उनले नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेपत्ता भएको छिमेकी धनपत्ति आचार्यले बताए । नेकपाका कार्यकर्ता समेत रहेका आचार्यले साविकको नेकपा एमालेका तत्कालीन गाउँ कमिटी अध्यक्ष बस्नेतलाई सम्बोधन गर्दै आफूले लामो समय पार्टीमा काम गरेर र आफूले संसार छाड्ने भन्दै आफू मरेर गए पनि पार्टीप्रतिको आस्था कहिल्यै नटुट्ने पत्रमा उल्लेख गरेका छन् ।
शनिबार रातिबाट वेपत्ता भएका आचार्यको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले बताए । एसपी राईका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका ८ स्थित कोशी पुलबाट हाम फालेका केही स्थानीयले देखेका थिए ।
सप्तकोशी किनारमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय गरी तीन सय भन्दा बढीले खोजी कार्यमा जुटेको एसपी राईले बताए ।

तपाईको प्रतिक्रिया