उदयपुर –उदयपुर १ को प्रतिनिधि सभाको स्थगित मतगणना अनिश्चित भएको छ । विहान ७ बजेदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन् । पटक पटकको सर्वदलिय बैठकले निकास नदिँदा मतगणना अनिश्चित बनेको हो । प्रतिनिधि सभाको मत पेटिकामा १०० मत प्रदेश सभा सदस्यको मत पत्र भेटिएपछि मत गणना स्थगित भएको हो । नेकपा एमाले सहित १५ जना उम्मेदबारले पुनः मतदानको माग गरेको छ ।
नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदबार मन्जुकुमारी चौधरी, प्रदेश सभा सदस्यका उम्मेदबार कुशलबाबु बस्नेत, इश्वरमणि राउत, राप्रपाका प्रतिनिधि सभाका उम्मेदबार धुर्व रायमाझी, जसपाका उम्मेदबार गाेपाल राई, नेकपा मालेका उम्मेदबार रामप्रसाद चौलागाई, नागरिक उन्मुक्ति पार्टीका उम्मेदबार शिवनारायण चौधरी लगायत स्वतन्त्र सहित १५ जनाले पुनः मतदानको माग गर्दै जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका छन् । निवेदनमा प्रदेश सभा सदस्यमा खसेको मतपत्र भन्दा बढी मतपत्र प्राप्त भएको, एकमुष्ट सय मत गणनाको क्रममा भेटिएकोले निर्वाचनको क्रममा धादली भएको भन्दै पुनः मतदानको माग गरेको छ । एकै व्यक्तिले दोहोरो मतदान गरेको पटक पटक गरी १४१ बढी मतपत्र भेटिएको लगायतको आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ ।
यता नेपाली काँग्रेसले १२ घण्टा भन्दा बढी मतगणना प्रक्रिया अवरोध भएकोमा आपति जनाएको छ । नेपाली काँग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राईले रोकिएको मतगणना तुरुन्त सुचारु हुनु पर्ने बताए ।
मतगणनाको क्रममा प्रतिनिधि सभाको बाक्सामा १०० मत प्रत्यक्ष तर्फको प्रदेश सभा सदस्यको मत पत्र भेटिएपछि मत गणना स्थगित भएको छ । विहान ७ बजेबाट स्थगित मतगणना विहान १०ः३० बजेको लागि बोलाएको सर्वदलिय बैठक विना निस्कर्ष ४ः१५ बजेसम्मको लागि स्थगित भएको थियो । पुनः ४ बजे बसेको सर्वदलिय बैठक विना निस्कर्ष टुङ्गिएपछि मतगाण्ना अनिश्चित बनेको छ ।
यस विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीसँग सम्पर्क गर्दा पुनः मतदानको माग गर्दै निवेदन परेको छ । सो निवेदन केन्द्रीय निर्वाचन कार्यालय काठमाडौ पठाई सकिएको जानकारी दिए । सम्भवतः आजै सो विषयमा टुङ्गो लग्ने सुवेदीले जानकारी दिए ।
प्रतिनिधि सभाको मतगणनामा पछिल्लो चरण त्रियुगा नगरपालिका अन्तर्गतका जनता मावि देउरी ६(क), ६(ख) र ६(ग) केन्द्र, अम्बेबर मावि राजाबास ९(क) केन्द्र, मावि चिलाउने १६(ख) केन्द्र, जनता मावि श्रीपुर ५(क) केन्द्र, बालमन्दिर मावि बोक्से १०(ख) केन्द्र बाक्सा खोलिएको नेकपा एमालेका मत गाण्नामा खटिएका प्रतिनिधि धर्म तामाङले जानकारी दिए ।
त्रियुगा नगरपालिका बाहेक नारदमुनी आदर्श मावि वर्खेडाँडा ४(क), शिव मावि सुन्दरपुर ५(ख), जनता मावि गुरुङचौरी ४(ख) को पनि संगै मिसाए खोलिएको तामाङले बताए । उनका अनुसार मत गणनामा २०४ मत घटी भेटिएको छ ।
प्रदेश सभा १(क) मा रुख चिन्ह नभएकोले १०० मतपत्रमा रुखमा पनि मतदान गरिएको हुँदा त्रियुगा नगरपालिकाकै हुन सक्ने अनुमान गरिएको छ ।