गाईघाट । उदयपुरमा जम्मा ५३.६ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा जिल्लाभरिबाट ५३ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार जम्मा एक लाख २१ हजार ४७९ जनाले मतदान गरेका छन् । जिल्लामा जम्मा २ लाख २८ हजार ९४६ मतदाता रहेका थिए । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्यको लागि मतदान भएको थियो । जिल्लामा एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र छन् ।
उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ९२ हजार २७७ मत खसेको छ । उदयपुर निर्वाचन प्रदेश सभा निर्वाचन १ (क) बेलका नगरपालिकामा ३३ हजार ६ मत र चौदण्डीगढी नगरपालिकामा २१ हजार ९५० मत गरी ५४ हजार ९५६ मत खसेको छ भने प्रदेश सभा निर्वाचन १ (ख) त्रियुगा नगरपालिकामा ३७ हजार ३२१ मत खसेको छ ।
यस्तै त्रियुगा नगरपालिकाको कारागारमा ९६ मत र मिलेन केन्द्रमा ६१ म्त खसेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा ४५ हजार २०३ मत खसेको छ । उदयपुर निर्वाचन प्रदेश सभा निर्वाचन २ (क) लिम्चुङबुङ गाउँपालिकामा ३ हजार २४३ मत, रौतामाई गाउँपालिकामा ६ हजार ३६२ मत र उदयपुरगढी गाउँपालिकामा ९ हजार ४१० मत गरी १९ हजार १५ मत खसेको छ । यस्तै ताप्ली गाउँपालिकामा ४ हजार १७० मत र कटारी नगरपालिकामा २२ हजार १८ मत गरी २६ हजार १८८ मत खसेको छ ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले अहिले मतपेटिका संकलनको काम जारी रहेको बताए । उनले भने, ‘मतपेटिका संकलन भएपछि गणनाको प्रक्रिया अघि बढ्नेछ ।’
प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को मतगणना त्रियुगा माध्यमिक विद्यालयमा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को मतगणना कटारीमा रहेको उदयश्री बहुमुखी क्याम्पसमा गर्ने व्यवस्था गरिएको पनि मुख्य निर्वाचन अधिकृत सुवेदीको भनाइ छ ।
यस्तै बेलका नगरपालिका वडा नं. ९ स्थित बरपिपल माविमा भएको मतदानमा ११ जना मतदातालाई प्रदेश सभाको मात्रै मतपत्र दिएपछि विवाद भएर केहि समय निर्वाचन रोकिएको थियो । ११ जनाले खसाएको मतपत्र बदर गरी पुनः मतदान भएको थियो । मतदानमा पुनः ११ जना सहभागि भएको थियो ।