उदयपुर – उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छबिसे स्थित कालिका माविमा रहेको मतदान केन्द्रमा मतदान बहिष्कार हुने भएको छ । गत वैशाखमा ३० गते भएको स्थानीय तहको निर्वाचनमा चलेको गोली काण्डका पीडितले पक्षले क्षति पुर्ति नपाएकाले आमामी मंसिर ४ गते हुने मतदान बहिष्कार गर्ने स्थानीय राजनीनिक दलले चेतावनी दिएका छन् ।
कटारी नगरपालिका–१० मा रहेका राजनीतिक दलका प्रतिनिधिहरुले सोमबार एक सर्वदलीय बैठक आयोजना गरी पीडित पक्षले क्षतिपुर्ति नपाएकाले आगामी मंसिर ४ गते निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । स्थानीय तहको निर्वाचनमा सोही मतदान केन्द्रमा प्रहरीले मत पेटिका लिएर दौडिन खोजेको भन्दै गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो, एक बालक सहित दुई जना घाइते भएका थिए ।
मृत्यु हुनेमा स्थानीय १८ वर्षे बिरबहादुर कटुवाल थिए, भने घाइते हुनेमा १४ वर्षे मोहन श्रेष्ठ थिए । प्रहरीको गोली लागेर घरमा बसिरहेका १४ बर्षीय बालक मन श्रेष्ठ समेत घाइते भएका थिए ।, उनको खुट्टामा गोली लागेको थियो । घटनास्थलबाट स्थानीय तहको निर्वाचनको मतपेटिका उठाउन दिएनन । स्थानीयले चर्को आन्दोलन गरेपछि पीडित पक्ष र सरकारबिच सातबुँदे सहमति भएको थियो । मृतकलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपूति प्रदान गर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्नेलगायतका बुँदामा दुई पक्षिय सहमति भए पनि राज्यले अहिलेसम्म क्षतिपूर्ति दिएको छैन् । उनिहरुकै परिवारले अहिलेसम्म क्षतिपुर्ति नपाएकाले राज्य क्षतिपुर्ति नदिएसम्म मतदान बहिष्कार गर्ने तयारी सुरु गरेको नेकपा एमाले सोरुङ छबिसेका स्थानीय दिपक राउतले बताए । उनले भने, ‘मतदान सम्पन्न भएपछि गोली चलेको थियो । बैशाखकै चुनावमा क्षतिपुर्ती दिने भनेर मतगणना गरिएको थियो । तर, अहिलेसम्म क्षतिपुर्ती राज्यले दिएन अनि बहिष्कार गर्ने निर्णय लिएका छौँ ।’
उनका अनुसार बैशाख ३१ गते र जेष्ठ १ गते सरकार पक्षसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।
मृतक कटुवाल र घाइतेको पीडित परिवारलाई क्षतिपुर्ती निदएकाले सामुहिक रुपमा स्थानीय राजनीतिक दलका नेताहरुले बाहिष्कार गर्ने योजना बनाएको सोरुङ छबिसेका कांग्रेसका वडा सभापति बलबहादुर खत्रीले बताए । उनले भने, ‘मतदान सम्पन्न भएपछि राज्यले मतपेटीका सुरक्षित गर्ने नाममा गोली चलाएको हो । एक जनाको मृत्यु भयो, घाइते बालक भर्खर उपचारपछि ठिक भएका छन् । त्यसवेला दिने भनिएको क्षतिपुर्ति पनि अलिहेसम्म दिइएको छैन । त्यही भएकाले बाहिष्कार गर्ने योजना रहेको छ ।
त्यसवेला पीडित पक्ष र राज्यबीच सातबुदेँ सहमति भएको थियो । त्यही सहमति अनुसार संघीय सरकारले मृतकलाई सहिद घोषणा गर्नु पर्ने, गोली चलाउने पिडक प्रहरीलाई कारवाही गराउनु पर्ने लगायतका बुदामा कार्यन्वय नभएकाले बाध्य भएर बहिष्कार गर्न लागेको नेकपा माओवादी केन्द्र सोरुङ छबिसेका स्थानीय नेता कमल राउतले बताए । उनले भने, ‘गोली काण्डपछि स्थानीय तहकै मत गणना हुनुभन्दा अगाडी भएका सहमतिमा राज्यले वेवास्ता गरेकाले बाहिष्कार गर्ने योजना लिएका छौँ ।’
सोमबारको उक्त सर्वदलीय बैठकले आगामी कात्तिक २२ गते प्रमुख जिल्ला अधिकारीसहितको बैठक राख्न पनि माग गरेको वडा अध्यक्ष छत्रबहादुर खड्काले बताए । उनले भने, ‘स्थानीय सरकारले दिने भनेको क्षतिपुर्तिको बजेटको व्यवस्था गरेको छ । मात्र संघीय सरकारले पीडकलाई कारबाही र सहिद घोषणा र क्षतिपुर्तिको लागि वेवास्ता गरेकाले बाहिष्कार गर्ने तयारी गरेका हौँ ।’