उदयपुर – उदयपुरको तीन पालिका प्रमुख र उपप्रमुख निर्वाचन आयोगको कार्वाहीमा परेका छन् । कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङका प्रमुख र उपप्रमुखलाई निर्वाचन आयोगले कार्वाही गरेको छ ।
स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउने कटारी नगरप्रमुख राजेश चन्द्र श्रेष्ठ र उपप्रमुख गिता खड्का, ताप्ली गाउँपालिका अध्यक्ष ढुङराज विक र उपाध्यक्ष धनमाया मगर, लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राई र पुष्पलाल राईलाई निर्वाचन आयोगले जरिवाना गरेको हाे ।
आयोगले निर्वाचनसम्बन्धी कानून र आचारसंहिता बमोजिम खर्च विवरण नबुझाउने कटारीका प्रमुख र उप्रमुखलाई ४ लाख ५० हजारको दरले र गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजारसम्मको जरिवाना गरेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए ।
जिल्ला निर्वाचन अधिकारी कोईरालाका अनुसार उम्मेद्वार भएर खर्च नबुझाउने विजयी र पराजित ८ सय ५९ जनालाई १ लाख ५० हजार देखि ४ लाख ५० हजार सम्म जरिवाना गरेको छ ।
‘निर्वाचित भएर पनि आयोगमा खर्च विवरण नबुझाउने विजयी उम्मेद्वारहरुले ६ महिना जरिवाना रकम आयोगमा नबुझाए विजयी भएको पद नै रिक्त हुने कानुनमा व्यवस्था छ ।’ खर्च विवरण नबुझाउने उम्मेद्वारको कानुनमा भएको व्यवस्था बारे कोईरालाले भने, ‘ निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ३ बमोजिम गरेको हो ।’
आयोगले निर्वाचनमा उम्मेद्वार भएर खर्च विवरण नबुझाएका पराजित उम्मेद्वारहरुले ६ महिनासम्ममा पनि जरिवाना रकम नबुझाएमा ६ वर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० (तीस) दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।