उदयपुर । सहिद मनोज जोशी–झपेन्द्र कार्कीको ३१ औं स्मृति दिवसको अवसरमा शनिबार जिल्ला अस्पताल उदयपुर बोक्सेका बिरामीलाई फलफूल वितरण गरिएको छ । कर्मचारी आन्दोलनका क्रममा शहीद बनेका जोशी र कार्कीको स्मृति दिवसको अवसरमा शनिबार जिल्ला अस्पतालमा उपचार गराइरहेका ४२ बिरामीलाई फलफूल वितरण गरिएको हो ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्य समिति उदयपुरले बिरामीलाई फलफूल वितरण गरेका हुन् । २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा जिल्लामा विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदै आएको छ ।
जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो । यस्तै सुरेन्द्र विकलाई पनि सम्झेको एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्य समिति उदयपुरका सचिव कृत रायमाझीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया