उदयपुर । त्रियुगा नगरपालिकाका उपमेयर सहित कार्यापालिका सदस्यहरुले मेयर बसन्त कुमार बस्नेतलाई ध्यानाकर्षण तथा कार्यपालिकाको बैठक बोलाएर करारको समस्या तत्काल समाधानको लागि माग गर्दै पत्र बुझाएका छन् ।

त्रियुगा नगरपालिकालाई बन्धक बनाउँन पाउँदैन भन्दै मिति नै तोकेर ध्यानाकर्षण पत्र तथा कार्यपालिकाको बैठकको माग गरिएको एक कार्यपालिका सदस्यले जनाएको छ । मेयर बसन्त कुमार बस्नेत पहिले आउन मानेको थिएनन प्रेसर गरेर बोलाएपछि आएको उनले बताए । ध्यानाकर्षण तथा कार्यपालिका बैठक बोलाउने क्रममा तपाईले त्रुटि गर्नु भयो, तपाईले नगरपालिकालाई बन्धक बनाउन पाउनु हुन्न भन्दा आफुलाई आफ्नै कर्मचारीहरुले फसाएको मेयरले स्वीकार गरेको उनले बताए ।

बुधबारको लागि कार्यपालिका बैठक बोलाउन माग गरिपनि मेयर बस्नेतले आफु नभ्याउने भनेपछि विहिबारको लागि कार्यपालिका बैठक बोलाउने सहमति भएको छ उनले बताए ।
मेयर बस्नेतलाई उध्रित गर्दै कार्यपालिका सदस्यले भने, “आफुलाई आफ्नै कर्मचारीले फसाएकोले अवका दिनमा त्यस्तो नहुने र सहमति सहकार्यबाट अगाडी बढने प्रतिवद्धता जनाए ।”

अवका दिनमा हरेक निर्णय गर्दा दलिय समयन्त्रमा छलफल गर्ने सहमति भएको छ । उनका अनुसार मेयर र उपमेयर सहित नेकपा एमालेबाट अमर बहादुर दनुवार, नेकपा माओवादी केन्द्रबाट मानबहादुर राई र नेपाली काँग्रेसबाट तिलक कटुवाल रहने गरी दलिय समयन्त्र बनाउने सहमति भएको छ । अवका दिनमा दलिय समयन्त्रले टुङ्गो लगाएको विषयलाई कार्यपालिकामा छलफल गर्ने गरी सहमति भएको उनले बताए ।

उनका अनुसार बहुमत कार्यापालिकाले ५९ जना करारको कर्मचारीको म्याद थप गरेर जाने बताउँदै आएका छन् । कर्मचारीको म्याद थपमा काखा र पाखा गर्न पाउँदैन अवका दिनमा त्यस्तो हुँदैन् उनले बताए ।

यता आन्दोलनरत कर्मचारीहरुले आफ्नो माग सम्बोधन नभएको भन्दै धर्ना सुरु गरेपछि कर्मचारी र जनप्रतिनिधि कार्यालय पस्न नपाएपछि दुई घण्टा कामकाज ठप्प भएको थियो । मंगलबार कार्यालय समय सुरु हुनुअघि नै मुलगेटमा आएर धर्ना बसेपछि कार्यालय प्रमुखदेखि सहयोगीसम्म, मेयरदेखि सदस्यसम्म कार्यालय छिर्न नपाएका हुन् ।

असन्तुष्ट कर्मचारीहरुले आस्थाको आधारमा आग्रहपूर्वाग्रह राखेर आफुहरुलाई निस्कासन गरेको गुनासो गर्दै अघिल्लो दिन नै मेयर बस्नेतलाई निर्णय पुनराबलोकन गर्न माग गरेका थिए । करार भए पनि लोकसेवा आयोगको प्रक्रिया पुरा गरेर सेवा प्रवेश गरेकाले निस्कासन गर्न पनि पूर्व जानकारी र स्पष्ट कारण हुनुपर्ने उनीहरुको गुनासो छ । मेयर बस्नेतलाई पूर्वाग्रही भएर गरेको निर्णय फिर्ता नलिएमा अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनीसहित उनीहरु धर्ना बसेको बताएका छन् ।

कर्मचारीको म्याद नथप्ने विषयमा मेयरले गम्भीर त्रुटी गरेको भन्दै कर्मचारी संघसंगठनले पनि आन्दोलनकारीप्रति ऐक्यबद्धता जनाएका छन् । उनीहरुले छुट्टाछटुटै र संयुक्त विज्ञप्ती प्रकाशित गरेर मेयर बस्नेतको उक्त कदमप्रति असहमति जनाएका छन् । बिभिन्न राजनीतिक दलनिकट कर्मचारी संघसंगठनहरु, निजामति कर्मचारीहरुको साझा छाता संस्था आधिकारीक ट्रेड युनियनले समेत कर्मचारी निस्कासनको शैलीप्रति असहमति जनाएका हुन् ।

कार्यालय समय लगत्तै सुरु आन्दोलन मत्थर पार्न म्याद थप नगरिएका मध्ये केहीलाई म्याद थप गरिदिने आश्वासन दिइएको भन्ने समेत बुझिन आएको छ । उक्त कुरा स्वयं आन्दोलनमै रहेका सहभागीबाटै खुल्न थालेको छ ।

कार्य मूल्यांकनको आधार विना नगरपालिकाले ५९ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्काशनमा परेकाहरुले आइतबारबाट आन्दोलन चर्काएका हुन । निष्काशनमा परेका कर्मचारीहरुले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन ।

तपाईको प्रतिक्रिया