उदयपुर । महालेखा परिक्षकले उदयपुरका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । बुधबार सार्वजनिक महालेखा परिक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु थपिएको छ । महालेखाका अनुसार आर्थिक वर्ष २०७७/०७८ उदयपुरमा सवैभन्दा बढि कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबै भन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएकोे छ ।

बेरुजु भन्नाले रुजु हुन नसकेको आर्थिक कारोबार हो वा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।
कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा बेरुजुको चाँङ बढेको छ भने लिम्चुङबुङ गाउँपालिकाले बेरुजु रकम घटाउन सकेनन् । ती पालिकामा आर्थिक वर्ष २०७६÷०७७ भन्दा झन बेरुजु बढेर आएको छ ।

महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्व ८५ करोड २७ लाख ७४ हजार मध्ये ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत पुगेको छ । यस अघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो । त्रियुगा नगरपालिकामा २ अर्व ४२ करोड ६२ लाख १६ हजार मध्ये बेरुजु ६ करोड ८२ लाख ९९ हजार अर्थात २.८२ प्रतिशत देखिएको छ । यस अघि त्रियुगा नगरपालिकाको बेरुजु ५ करोड ४ लाख ८६ हजार रहेको थियो ।

चौदण्डीगढी नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख १३ हजार पुगेको छ । चौदण्डीगढीमा कुल बजेट १ अर्व ८१ करोड ३१ लाख ३३ हजार मध्ये २.१८ प्रतिशत बेरुजु रहेको छ । यस अघि चौदण्डीगढीमा १ करोेड ९६ लाख ३८ हजार बेरुजु रहेको थियो ।

लिम्चुङबुङ गाउँपालिकामा ६५ करोड ८१ लख २७ हजार रकम मध्ये २ करोड ८२ लाख ६० हजार अर्थात ४.२९ प्रतिशत बेरुजु देखिएको छ । यस अघि लिम्चुङबुङको बेरुजु २ करोड १८ लाख १३ हजार बेरुजु थियो ।

बेलका नगरपालिका सहित उदयपुरगढी, ताप्ली र रौतामाई गाउँपालिकामा बेरुजु घटाउन सफल भएको छ । बेलका नगरपालिकाको यस अघि ४ करोड १ लाख ७९ हजार अर्थात २.७९ प्रतिशत बेरुजु घटेर १.९४ प्रतिशतमा झरेको छ । बेलका नगरपालिकामा १ अर्व ५६ करोड ३९ लाख २१ हजार मध्येबाट ३ करोड ३ लाख ७४ हजारमा झरेको छ ।

ताप्ली गाउँपालिकामा ७९ करोड ३९ लाख ५९ हजार मध्ये बेरुजु १ करोड ७० लाख ३७ हजार रहेको छ । रौतामाई गाउँपालिकामा १ अर्व १२ करोड ८४ लाख १६ हजार रकम मध्ये बेरुजु १ करोड ४५ लाख ९९ हजार रहेको छ ।

उदयपुरगढी गाउँपालिकामा १ अर्व २१ करोड ८८ लाख ६ हजार रकम मध्ये बेरुजु ४५ लाख ८२ हजार अर्थात ०.३८ प्रतिशत रहेको छ । यस अघि ९८ लाख ४ हजार अर्थात ०.८३ प्रतिशत बेरुजु रहेको मलेप प्रतिवेदनमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया