उदयपुर । हप्ता दिन दिन अघि बर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको रुपाटार, कुमालटार, डडुवा, मादले जोड्ने अबरुद्ध सडक पुनः सुचारु भएकोछ । बर्षातको कारण विभिन्न ठाउँहरुमा सडक अबरुद्ध भएपछि ताप्ली गाउपालिकाको अध्यक्ष ढुङ्गराज बिकले अवरुद्ध बाटो खुलाउन फिल्डमा नै पुग्नु भएको हो । अध्यक्ष विकले ताप्लिको सम्पुर्ण अबरुद्ध सडकहरु तत्काल खोलिने समेत जानकारी दिनु भएको छ ।
सडक अवरुद्ध भएपछि स्थानीयलाई सदरमुकाम र स्थानीय तहका केन्द्र आउ जाउ गर्न समस्या भएको थियो । पछिल्लो एक दशकमा गाउँ गाउँमा कच्ची सडक बने पनि अधिकांशको काम प्राविधिक इस्टीमेट विना र सानो बजेटबाट साँघुरा र घुम्तीयुक्त बनेका छन् । गाउँमा सडक पुर्याउने होडबाजीमा स्थानीयले थोरै बजेटबाट श्रमदानको भरमा निर्माण भएका सडकहरू वर्षायाममा हिलो, पहिरो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोले यातायातका साधन चल्न हम्मे पर्ने गरेको छ । प्राविधिक इस्टीमेट र निगरानी विना निर्मित यस्ता सडकलाई सामान्य वर्षाले नै भत्काउने गर्दा यातायात आवागमन बन्द हुने गरेको हो ।

ताप्ली गाउँपालिकाको केन्द्र आउजाउ गर्न समस्या हुने सडकहरुको अवरुद्ध खुलाउने काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिए । उनका अनुसार अवरुद्ध सडक नखुलाइए असार, साउन र भदौमा आउजाउ गर्न ठूलो समस्या हुने गरेको छ ।

उदयपुर सदरमुकामसँग जोड्ने दुरदराजका यस्ता अधिकांश कच्ची सडकहरू हल्का वर्षाकै कारण अवरुद्ध हुँदा यात्रुलाई आउजाउ र सामान ढुवानी गर्न समस्या हुने गरेको स्थानीय व्यापारीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया