उदयपुर । त्रियुगा नगरपालिकामा दुई हजार मत गणना सम्पन्न भएको छ । वडा नं. १ मा ६ सय, वडा नं. २ मा ७ सय र वडा नं. १६ मा ७ सय गरी २ हजार मत गणना सम्पन्न भएको छ ।
समाचार तयार पर्दासम्मको मत परिणामा अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदबार बसन्त कुमार बस्नेत ५५ मतले अग्रता कायम गरेको छ । बस्नेतले ६७१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदबार बलदेव चौधरीले ६१६ मत ल्याएका छन् । नेकपा एमालेका मेयरका उम्मेदबार भागवत राउतले ४२५ मत ल्याएका छन् ।

उपमेयरमा काँग्रेसका सरिता राई ५९९ मत, नेकपा माओवादी केन्द्रका गीता खड्का कार्कीले ४३३ मत र एमालेकी महेश्वरी राईले ४२२ मत ल्याएकी छिन् ।

वडाध्यक्षहरुमा त्रियुगा नगरपालिका १ मा काँग्रेस, वडा नं. २ मा एमाले र वडा नं. १६ मा नेकपा माओवादी केन्द्रको अग्रता रहेको छ ।
त्रियुगा नगरपालिका १ मा वडाध्यक्षमा नेकाका मनोज कुमार चौधरीले २६३ मत ल्याउँदा स्वतन्त्र उम्मेदबार नारायण ढकालले १७७ मत सहित पछ्याईरहेको छ ।

त्रियुगा नगरपालिका २ मा वडाध्यक्षमा एमालेका घमानसिंह खत्रीले ३०१ मत ल्याउँदा नेकाका टिका बुढाथोकीले २२५ मत ल्याएका छन् ।
यस्तै त्रियुगा नगरपालिका १६ मा वडाध्यक्षमा ३७५ मत सहित माओवादीका उम्मेदबार मान बहादुर राईको अग्रता रहेको छ भने १३७ मत सहित नेकाका रामबहादुर मगर पछ्याईरहेका छन् ।

यस्तै त्रियुगा नगरपालिका १२ मा खसेको मत सार्वजनिक नगरी मत गणना शुरु गरेकोमा नेकपा एस र जनता समाजवादी पार्टीले आपति जनाएको छ ।

उनीहरुले विहान ८ः१५ मात्रै मत गणना गर्नु पर्ने भन्दै सर्वदलिय बैठकको जानकारी आएपनि सर्वदलिय बैठकमा पुग्नु अघि नै सकिएको नेकपा एकीकृत समाजवादी त्रियुगा नगर कमिटीका अध्यक्ष जनार्दन रेग्मीको आरोप छ ।

मुख्य निर्वाचन कार्यालयले हामी लगायत नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत दललाई पेलेर नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सर्व दलिय बैठक सम्पन्न गरेको नगर अध्यक्ष रेग्मीले बताए । उनले भने ‘हाम्रो माग त्रियुगा नगरपालिका १२ को मत गणना गर्ने वा पुनः मतदान गर्ने विषय अदालतमा विचारधिन रहेकोले तत्कालको लागि मतगणना स्थगित गर्नु पर्ने हो ।’

जनता समाजवादी पार्टीका नेता राहुल यादवका अनुसार त्रियुगा नगरपालिका १२ मा विवाद हुनु अघि १ हजार ४७९ मत मात्रै खसेको बताए । त्रियुगा नगरपालिका १२ मा ३ हजार १९२ मतदाता मध्ये १ हजार ४७९ मत मात्रै खसेको छ । जम्मा मतको खसेको मत (पोलिङ मत) ले ५१ प्रतिशत नपुग्ने भएकोले पुनः मतदान बाहेक अर्को विकल्प नरहेको बताए । उनका अनुसार हाम्रो सर्वदलिय बैठकमा हाम्रो प्रतिनिधि पुग्नु अघि नै सकिसकेको आरोप लगाए । यो राज्य सत्ता पेलेर जान खोजिरहेको तर त्यस्को सिको यहाँको निर्वाचन अधिकृतले पनि देखाएको आरोप लगाए ।

नियम बमोजिम स्थगित मदतान पुनः मतदानको माग जसपाका मेयरका उम्मेदबार मन्जु राई, उपमेयरका उम्मेदबार विनोद कुमार चौधरी, १२ नं. वडाका वडाध्यक्ष लक्ष्मी चौधरी, वडा सदस्य रेणु कुमार बोट, राप्रपाका उपाध्यक्षका उम्मेदबार रामवति चौधरी, स्वतन्त्र उपमेयरका उम्मेदबार रामकिशुन सदा लगायतले उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका छन् । रिट निवेदन विचारधिन अवस्थामा रहेको रहेको छ । तर निर्वाचन आयोगले मत गणना जारी गरेको छ ।

आफुहरु मतदानबाट बञ्चित भएको भन्दै पुनः मतदानको माग गर्दै प्रदेश सांसद सुनिता कुमारी चौधरी, इश्वरमान राई, नवराज घिमिरे सहित १० जनाले उच्च अदालत विराटनगरमा दर्ता रिटमा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशको लागि छलफलमा झिकाउने आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायधीस राम बहादुर थापाको एकल इजलासले यस्तो आदेश दिइएको हो ।

सांसद चौधरी स्वयं मतदानबाट वञ्चित भएकी थिइन् । उनले पुनः मतदानको माग गर्दै दिएको रिटमा उच्च अदालत विराटनगरले विपक्षीसँग लिखित जवाफ माग्नुका साथै अन्तरिम आदेशका लागि जेठ १६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

तपाईको प्रतिक्रिया