उदयपुर । त्रियुगा नगरपालिकाको अभरमा नगर कार्यक्रमको ग्राभेल काम पनि दलहरुको आग्रहमा प्रहरीले रोक लगाएको छ । चालु आबको २०७८ कार्तिक ३० गते एक सूचनामार्फत अभरमा नगर कार्यक्रमको लागि हेभि इक्युमेन्ट (टिपर र व्याकहोए लोडर) भाडामा माग गरि २०७८ चैत्र ६ गते नगरपालिका र शिवशक्ति निर्माण सेवा विच सम्झौता भएको देखिन्छ ।
निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था ऐनमा प्रष्ट छ । निर्वाचन आचारसंहिता २०७८ चैत्र २५ गतेदेखि लागू भएपनि सो भन्दा अगाडीको आयोजनाहरुमा ठूलो दलहरुले अवरोध गरेको छ ।

प्रत्येक वडामा ग्राभेल हुन बाँकी सडकहरुमा ग्राभेल गर्ने सम्झौता अनुसार काम गर्ने क्रममा त्रियुगा नगरपालिका १३ को किरात चोक उत्तरको बाटोमा ग्राभेलको काम गर्दा गर्दै प्रहरीले रोक लगाएको छ ।एक वर्ष अगाडी मात्रै गाईघाट आएकी स्थानीय प्रतिमा सुवेदीले आफ्नो घर अगाडीको ग्राभेल सम्याउँदै ग्राभेलको काम रोक्न नहुने तर के कारणले रोकेको मलाई केही थाह नभएको बताईन् ।

अर्का कमला पौडेलले अरुको घर अगाडी ग्राभेल गर्यो मेरो घर नजिक आउँनै लागेकोमा कुन नेतालाई के पुगेन थाह भएन । राजनीतिक दलकै मान्छेले काम रोक्न लगाएको उनले बताईन् ।

नगरपालिका स्रोतका अनुसार राजनीतिक दलको दवावमा आचार संहिता लागू हुनु भन्दा अगाडीको काम पनि रोक्नुले आर्थिक मसान्तको अन्त्यमा कामको बोझ बढ्ने बताए । कर्मचारी स्रोतले दलको नाम नभने प्रतिस्पर्धी दलले काम रोक्न दवाव दिएको बताए ।

तपाईको प्रतिक्रिया