त्रियुगालाई उपमहानगरपालिका बनाउनेदेखि लिएर मेडिकल कलेज संचालन, स्वास्थ्यको लागि ठाउँ ठाउँमा खुल्ला जिम संचालन, स्वास्थ्य विमामा ५० प्रतिशत अनुदान

“स्वस्थ, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर”
ने.क.पा. (एकिकृत समाजवादी) र ने.क.पा. (माओवादी केन्द्र)
त्रियुगा नगरपालिका, उदयपुर
संयुक्त प्रतिबद्धता स्थानीय तह निर्वाचन–२०७९

हामी गर्छौं, गरेरै छाड्छौं
आदरणीय त्रियुगावासी बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू,
नेपालमा कम्युनिष्ट आन्दोलनको लामो श्रृंखला छ । विभिन्न कालखण्डमा भएका महत्वपूर्ण अभियान, आन्दोलन र जनयुद्धको जगमा आज संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायतका महत्वपूर्ण उपलब्धी हासिल भएका हुन् । त्यो लामो आन्दोलनको श्रृंखलाका एउटा जिउँदो इतिहास एवं नेकपा (एकीकत समाजवादी) पार्टीका श्रद्धेय अध्यक्ष क. माधव कमार नेपालले राष्ट्रियता, राष्टिय स्वाधिनता, सामाजिक न्याय, अग्रगामी रूपान्तरण र जनजीविका महत्वपूर्ण सवालमा कहिल्यै सम्झौता गर्नुभएन । मुलुकले प्राप्त गरेको राजनीतिक उपलब्धिको नेतृत्व नेकपा (माओवादी केन्द्र)का श्रद्धेय अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डले गर्नुभयो । नेकपा माओवादीले सञ्चालन गरेको दश बर्षीय महान जनयुद्ध क. प्रचण्डको नेतृत्वमा सामन्तवादी पुरातन राज्यसत्तामाथी प्रहार गर्दै जनताको हातमा अधिकार प्रदान गरी जनतालाई सार्वभौम बनाउन नेपाली कम्युनिष्टहरूको एउटै पार्टी बनाउने प्रयत्न क. प्रचण्डबाटै भयो । युगान्तकारी परिवर्तनका लागि गरिएको प्रयत्नमाथी षड्यन्त्र र जालझेल गर्दै अवसरवादी ओली प्रवृत्ति हावी भयो । आम नेपाली जनता, महान शहीद, घाईते, अपाङ्ग, जनयुद्धका योद्धाहरूको त्याग, तपस्या र बलिदानसँगै जनआन्दोलनबाट प्राप्त उपलब्धि जनताको सार्वभौम अधिकार प्रयोग गर्ने संसदलाई दुई–दुई पटकसम्म विघटन गरेर पुरानै सामन्ती सत्ता उल्ट्याउने प्रपञ्च रचेको ओली प्रवृत्तिलाई क. माधव कुमार नेपाल र क. प्रचण्ड लगायत गठबन्धनको सचेत अग्रसरताका कारण करिब करिब निमिट्यान्न पार्न खोजिएको वर्तमान व्यवस्था र उपलब्धिको रक्षा भएको यथार्थ तपाई आम सचेत नागरिकलाई जानकारी नै छ ।

नयाँ संविधान निर्माणपश्चात् मुलुक राजनीतिक परिवर्तनबाट आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको मूल मार्गमा प्रवेश त गर्यो तर, नेतृत्व भने धोका, तिकडम, छल, स्वार्थको राजनीतिमा रमाइरह्यो । फलस्वरूप, नेपाली कम्युनिष्टका लागि इतिहासमै विरलै प्राप्त हुने स्वर्णीम अवसरको अवसान हुनपुग्यो । तथापि क. माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको कदमले ठूलो दुर्घटनालाई जोगाउँदै आज निर्वाचनसम्मको अवस्थामा आइपुगेको सर्वविदितै छ । सत्यलाई तोडमोड गरी प्रचार गर्न माहिर कम्युनिष्ट जस्ता देखिने वैचारिक रूपमा स्खलितः भएकाहरूलाई जनताले चिनिसकेका छन् । त्यस्ता प्रवृत्तिका विरूद्ध गतिलो झापड दिनु आवश्यक ठान्दै गठबन्धनलाई निरन्तरता दिएर त्रियुगाको स्थानीय तहमा एक भएर अगाडि बढेका छौं ।

बि.सं. २०५१ मा मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको समाजवाद उन्मुख शासन प्रणालीलाई निरन्तरता दिन मपाईत्वबाट ग्रस्त कम्युनिष्ट खोल ओढेको नेतृत्वले गर्न सक्दैनथ्यो भन्ने बुझन ढिलो गर्नु हाम्रो पनि भूल भयो होला तर अब खास समाजवादको प्रयोग गर्दै विकास र समृद्धिको पथमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र संयुक्त रूपमा अगाडि बढिसकेको छ । जबसम्म तपाई जनताको सचेत मत प्राप्त हुन्छ, तबसम्म कुनैपनि शक्तिले अब यो बाटो छेक्न र रोक्न सक्दैन । विचारले पार्टी जन्मिन्छ, पार्टीमा व्यक्ति प्रधान हुँदैन । नीति, सिद्धान्त र कार्यशैलीले संगठन कालजयी बन्छ । त्यसैले, नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिदैं समाजवाद व्यवहारतः अनुभुत हुने अवस्थाको त्रियुगा नगर सरकार निर्माण गर्न स्थानीय तहको निर्वाचनमा दुई कम्यनिष्ट पार्टीबाट संयुक्त उम्मेदवारी दिएका छौं ।
तपाईको मत मागिरहेका छैनौं । तपाईलाई शान्त भएर सोच्न आग्रह गर्छौं । यदि विश्वास जाग्यो भने मात्रै मत दिन आग्रह गर्छौं । तपाई सोध्नुहोला– के गर्नुहुन्छ ? भनेर । हामी नियगाको माटो समातेर प्रतिबद्धता व्यक्त गर्छौँ र बाचा गर्दै हामीले नगर्ने काम पहिला यहाँ उल्लेख गर्दैछौं ।

हामी के गर्दैनौ
१. हामी भ्रष्टाचार, अपारदर्शीता, अनियमितता, लापरवाही गर्दैनौ र गर्न पनि दिदैनौं ।
२. जात, लिङ्ग, वर्ण, विचार, भूगोल लगायतका आधारमा विभेद गर्दैनौं ।
३. जनताका आवश्यकता भन्दा बाहिरका र जनसहभागिता विना योजना र बजेट बनाउँदैनौ ।
४. विलासी, सुविधा भोगी, स्वेच्छाचारी हुँदैनौं ।
५. राष्ट्रिय÷अन्तराष्ट्रिय शक्ति, संस्था, व्यक्ति र प्रवृत्तिसँग जनताको अहित हुने गरी सम्झौता र सम्बन्ध राख्दैनौं ।
६. जातीय, क्षेत्रीय, भौगोलिक र सांस्कृतिक मान्यता परम्परा विपरित बौल्दैनौ÷गर्दैनौं ।
७. भावनात्मक रूपमा चोट पुग्ने खालका भाषा बोल्दैनौं र त्यस्ता व्यवहार गर्दैनौ ।
८. शक्ति केन्द्र र सिमित व्यक्तिलाई लाभ पुग्ने तरं बहुसंख्याक जनतालाई असर पर्ने खालका निर्णय गर्दैनौं ।
९. संविधान, कानून विपरित कुनै काम गर्दैनौ र जनताको हित नगर्ने कानुन बनाउँदैनौं÷मान्दैनौं ।
१०. नगर सरकारसँग भएका स्रोत, साधन, जनशक्तिको दुरूपयोग गर्दैनौं ।
११. कमजोर, गुणस्तरहीन, प्रभावहिन संरचना बनाउँदैनौं ।
१२. त्रियुगा नगरपालिकालाई उपमहानगर बनाउन अवरोध पुग्ने र पुयाउन खोज्ने व्यक्ति, विषय वा प्रवृत्ति सहदैनौं ।
१३. तपाईंको मतबाट प्राप्त हुने ५ बर्ष वा ६० महिना वा १,८०० दिन वा ४३,२०० घण्टा वा २५,९२,००० सेकेण्ड त्रियुगा नगरवासीको हित बाहेकका काममा खर्च गर्दैनौं ।
समग्रमा, जनताको भरोसाको केन्द्र स्थानीय सरकारमा रहँदा वा नरहँदा पनि जनआकांक्षा विपरितका काम नगर्ने र त्रियुगाको विकास तथा समृद्धिका खातिर अनवरत लागिरहने प्रण गर्दछौं ।
अब के गछौं ?

शैक्षिक केन्द्र (Educational Hub)
‘जानुपर्दैन कहीं, पढाउनेछौं यही’
त्रियुगा नगरपालिकालाई शैक्षिक केन्द्र (Educational Hub) बनाईनेछ । जसका लागि त्रियुगा जनता बहुमुखी क्यामपसलाई प्रादेशिक विश्वविद्यालय बनाउन पहल गर्ने, बरूवा क्याम्पसलाई प्राविधिक संस्थान तर्फका शैक्षिक कार्यक्रमतर्फ उन्मुख गराउने, प्राविधिक विद्यालय स्थापना गरेर कृषि, पशुचिकित्सा, मेकानिकल इन्जिनियर, सञ्चार प्रविधि शिक्षाको अवसर प्रदान गर्ने, शिशु कक्षाका बालबालिकाहरूलाई खेल्दै सिक्दै शिक्षण प्रणालीबाट अध्यापन गराउने, प्राथमिक तहमा मातृभाषा शिक्षा सञ्चालन गर्ने, माध्यमिक तहमा फरक धारका प्राविधिक शिक्षा सञ्चालन गर्नेछौं ।

स्वास्थ्य
‘सकेसम्म निरोगी बन्ने, रोग लागे नगरपालिकालाई भन्ने’
त्रियुगाको फस्र्यौटमा शिक्षण अस्पताल स्थापना, त्रियुगा अस्पतालमा विशेषज्ञ डाक्टरबाट नियमित सेवा, २०० बेडको अस्पताल निर्माण, वडा नं. ५ को देउरीमा नगर अस्पताल निर्माण गरिनेछ । प्रत्येक नगरवासीको स्वास्थ्य विमामा नगरको ५० प्रतिशत सहयोग, पहाडी क्षेत्रमा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र र तल्लो क्षेत्रमा आयुर्वेदिक अस्पताल स्थापना गरिनेछ र प्रत्येक वडामा मातृशिशु केन्द्र (बर्थिङ सेन्टर) तयार पारिनेछ ।

उद्योग
‘आफ्नै उत्पादन, आफ्नै प्राण्ड त्रियगाको पहिचान’
उदयपुर सिमेण्ट उद्योगको उत्पादन गुणस्तर बढाउँदै सुकौरामा शाखा उद्योग स्थापना गरी दैनिक ७ हजार मेट्रिक टन उत्पादन गर्ने, स्थानीय कोदोको रक्सी तथा अण्डिको निगारलाई ब्राण्ड बनाउँदै विदेश निर्यात गर्न कानूनी व्यवस्था मिलाउने, घरेलु उद्योगलाई प्रोत्साहन गर्ने, कृषिमा आधारित उद्योग स्थापना, बाँस, निगालो, काठ, खर, पात जस्ता स्थानीय स्रोत तथा कच्चापदार्थबाट सामाग्री उत्पादन गर्दै अन्तराष्ट्रियस्तरसम्म बजारको खोजी गरिनेछ । रोजगारी सिर्जना गरी प्रत्येक बर्ष कम्तिमा ५०० जनालाई रोजगार स्वरोजगार बनाइनेछ ।

कृषि, पशुपालन
‘उत्पादन र बजारीकरणमा साथ नजाऊँ अब प्रवास’
व्यवसायिक पशुपन्छि पालन गरिरहेका संस्था, समूह र व्यक्तिलाई प्राविधिक सेवा, औषधि, तालिम प्रदान गर्दै गुणस्तरीय उत्पादन गर्न अनुदान प्रदान गर्ने, व्यवसायिक कृषि फार्मलाई प्राविधिक सेवा, औषधि, मल, विउ, औजारका लागि अनुदान दिने, शित भण्डार निर्माण, बेताल सिंचाई आयोजनाजस्तै विशेष योजनाहरू सञ्चालन गर्ने, कषि मिटर जडान गरी २०० युनिसम्मको विद्युतको शुल्क नगरपालिकाले व्यहोर्ने, कृषि औजार बैंकको स्थापना गरिनेछ ।

पर्यटन र मनोरञ्जन
बलदोभानदेखि रौतासम्म केबलकार सञ्चालन गर्न पहल गर्ने, असारी बरूवा पुल पचिम उत्तर, साकेला थान दक्षिणको सार्वजनिक जमिनमा मेयर पार्क निर्माण गरिनेछ भने मन्दिर, साकेलाथान, गुम्बा, स्तुपा, देवाली थान लगायतलाई धार्मिक पर्यटनका रूपमा विकास गर्दै प्रत्येक वडामा खेल मैदान, व्यायामशाला, योगशाला निर्माण गरिनेछ । सांस्कृतिक पहिचान जोगाउँदै पर्यटकलाई आकर्षित गर्न होमस्टेलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न अनुदानको व्यवस्था गरिनेछ । पूर्वाधार विकास त्रियुगा नगरपालिकाका सबै वडामा पहुँच पुग्ने गरी रिङरोड निर्माण गर्ने, त्रियुगा र बरूवा नदिमा मिसिने सबै नदी कटान तथा बाढी पहिरो नियन्त्रण गरी पर्यावरण संरक्षण गर्दै हराभरा बनाउन बाँध निर्माण तथा बृक्षारोपण र पानीको सञ्चय गरिनेछ । सञ्चित पानीबाट खानेपानी तथा सिंचाईमा पहुँच बृद्धि गरिनेछ । कच्चि सडक ग्राभेल गर्ने, ग्राभेल सडक कालोपत्रे गर्दै सबै सडकको ढल निकास व्यवस्थापन गरिनेछ । प्रत्येक टोलमा विद्युतीकरण गर्ने, साउने र खाँबु, चिलाउनेमा पहाडी शहरको अवधारणालाई कार्यान्वयन गर्ने, खेतियोग्य जमिनको संरक्षण र विपत्तीबाट नागरिकलाई जोगाउन प्रत्येक खोलाहरूका पुराना तटबन्धको मर्मत गर्दै नयाँ बाँध निर्माण गरिनेछ ।

गरिबी निवारण
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाको स्वामित्व तथा हक हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा पुगेकाले तत्काल लालपुर्जा वितरण गरिनेछ । वस्तुगत सर्भेक्षण गरी योग्यता पुगेका प्रत्येक निम्न र विपन्न परिवारका एक जना सदस्यलाई रोजगारी स्वरोजगारको सुनिश्चितता, माध्यमिक तहमा निःशुल्क प्राविधिक शिक्षा, लोकसेवा तयारी कक्षाको सुनिश्चितता गर्छौं ।

लक्षित वर्ग
महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, पिछडावर्ग, जनयुद्धका घाइते, शहीद तथा बेपत्ता पारिएकाका परिवार, अल्पसंख्यक, लोपोन्मुख, असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्तिका लागि शिप, शिक्षा, समानता, रोजगार, सामाजिक न्याय, सम्मान प्रदान गरिनेछ भने बालबालिकाहरूका लागि मेयर सरक्षा कार्यक्रम सञ्चालन गरिनेछ । ज्येष्ठ नागरिकहरूको योगदानलाई सम्मान गर्दै सुविधासम्पन्न ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिनेछ, जहाँ भजन, किर्तन, नाच, गान, खेल लगायतका सुविधा सहित नर्सको व्यवस्थापन गरिनेछ । साथै, जनयुद्धका योद्धाहरूलाई न्यायोचित सम्मान गरिनेछ ।

महिला
महिला हिंसा हुन नदिन सचेतना कार्यक्रम र हिंसामा परेका महिलाहरूलाई संरक्षण गरिनेछ । उनीहरूको न्याय दिलाउन नगरपालिका प्रतिबद्ध हुनेछ । शिप, दक्षता प्रदान गर्दै महिलालाई आत्मनिर्भर बनाउने र भूमिमा महिलाको अधिकार स्थापित गराउने पहल हुनेछ । धूवाँरहित चुल्हो आमाको स्वास्थ्य ठलो’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

सहकार्य
स्वच्छ खानेपानीको सुनिश्चितता गर्दै सञ्चालित आयोजनाहरूको मर्मत तथा सञ्चालनका लागि अनुदान हिदैं सहकार्यको नीति अवलम्बन गरिनेछ । सहकारी, निजी क्षेत्रको क्षमता विकास गर्दै पालिकासँगको सहकार्यमा व्यवसायिक योजनाहरू सञ्चालन गरिनेछ । त्रियुगा मल निर्माण गरिनेछ ।

विपद्
एकीकत विपद् व्यवस्थापन प्रणालीको विकास गर्दै नगरवासीलाई विपदबाट जोगाउन पर्व सूचना दिने, उद्दार, राहत तथा पुर्नस्थापना गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर गरिनेछ । जसका विपद् पूर्व सूचना केन्द्रको स्थापनासँगै उच्चस्तरीय विपद् प्रतिकार्य संयन्त्र बनाईनेछ ।

युवा
मुलुक निर्माणको पहिलो श्रोत भनेकै यूवा हुन् भन्ने हाम्रो प्रष्ट बुझाई छ । त्यसैले युवालाई रोजगारीका अवसरको सिर्जना गर्ने, दूव्र्यसनी रोकथाम गर्दै मोटिभेसनल कक्षाहरू सञ्चालन, यूवालाई सामाजिक र आर्थिक रूपान्तरणको सारथी बनाउने, स्वयंसेवी अभियान सञ्चालन गर्ने तथा यूवालाई स्वस्थ, तन्दुरूस्त राख्ने अभिप्रायले उपयुक्त पायक पर्ने स्थानहरूमा खुल्ला जिमको स्थापना गरिनेछ । नवीन सोच भएका तर पूँजीको अभावले खुम्चिएका यूवाहरूलाई उद्यमी बनाउन विशेष व्यवस्था गरिनेछ ।

बालबालिका
घरबाट विद्यालयका लागि निस्किएका बालबालिकाहरू घरभित्र नपसुन्जेलसम्मको सबै अवस्थाको सम्पूर्ण सुरक्षाको जिम्मा अब नगरपालिकाले लिनेछ । जसका लागि बालबालिका सुरक्षा योजना लागू गरिनेछ । जोखिममा रहेका बालबालिकाको संरक्षण, बाल श्रम उन्मुलन गरिनेछ भने राजनीतिक क्रियाकलापमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाउँछौं । विद्यालयको भौतिक संरचना निर्माण, शिकाई पद्दतिको पुर्नसंरचना, जिम्मेवार शिक्षक, जवाफदेही विद्यालय व्यवस्थापन समिति बनाइनेछ । नियमित खोप, पौष्टिक आहार, विपन्न विद्यार्थीलाई झोला, कपी, किताब, कपडा लगायतको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।

शहरी व्यवस्थापन
‘हाम्रो त्रियुगा नगर, हामी नै बनाउँछौं आधुनिक शहर’
भएका शहरलाई थप संरचना निर्माणका काम गर्दै अत्याधुनिक शहर बनाईनेछ भने गाउँलाई शहरमा रूपान्तरण गरिनेछ । जसका लागि नगरको आवधिक योजना अनुरूप, द्रुततर गतिमा काम अगाडि बढाईनेछ ।

कर प्रणाली
वैज्ञानिक कर प्रणालीको विकास गर्दै बाध्यकारी नभई स्वयं कर तिर्न जागरूक हुने अवस्था सिर्जना गरिनेछ । कर संकलन तथा व्यवस्थापन प्रणाली सहज बनाईनेछ ।

सुशासन, पारदर्शिता, जवाफदेहिता
प्रत्येक नागरिकले जनप्रतिनिधिसँग आफुलाई लागेको समस्या, गुनासो, प्रश्न सोध्ने र जवाफ पाउने गरी प्रविधिक संयन्त्रको विकास गरिनेछ । प्रत्येक बर्ष सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण बालबालिकासँग मेयर, महिलासँग उपमेयर, जनतासँग जनप्रतिनिधि जस्ता कार्यक्रम सञ्चालन गरी नागरिकसँग प्रत्यक्ष जोडिनेछौं । नागरिकलाई नगरपालिकाले गरेका काम, कारवाहीबारे सूचित गर्ने विशेष संयन्त्र निर्माण गर्नेछौं ।

बिगतको समीक्षा : के गर्यो ?
निवर्तमान नगर प्रमुख क. बलदेव चौधरीको नेतृत्वको स्थानीय सरकारले बि.सं. २०७४ देखि २०७९ को बिचमा ४ बर्ष ७ महिनाको अवधिमा गरेका प्रयत्नबारे तपाई जानकार नै हुनुहन्छ । उदयपुरबाटै सुरु भएको कोरोनालाई जित्दै चौधरीकै नेतृत्वमा बनेको उदयपुर विकास बोर्डमार्फत कोरोना अस्पताल, अक्सिजन प्लाण्ट, राहत तथा उद्दार, उपचार लगायतका काम भएका छन् ।

५०० किलोमिटर भन्दा बढी नयाँ सडकको ट्रयाक खोलिएको छ, ४०० भन्दा बढी किलोमिटर सडकमा नाला बनाइएको छ, १०० किलोमिटर सडक कालोपत्रे गरिएको छ, ३०० किलोमिटर पुराना सडक मर्मत गरिएको छ, ६० वटा कल्भर्ट निर्माण भएको छ, ४६ किलोमिटर विद्युत विस्तार गरिएको छ, ३००० वटा विद्यत पोल वितरण गरिएको छ, १९५ थान सोलारबत्ति जडान गरिएको छ, १२५ वटा सबैखाले भवन निर्माण भएका छन्, ११२ वटा मठमन्दिर तथा गुम्बा निर्माणमा सहयोग भएको छ, ७४ बटा खानेपानी योजना मर्मत गरिएको छ भने १० किलोमिटर भन्दा बढी नदी नियन्त्रणको काम गरिएको छ ।

थरूहट रंगशाला, बेताल सिंचाई आयोजना, बबियाखोला बाँध निर्माण र ३८ वटा साना सिंचाई योजना निर्माण सम्पन्न भएको छ । यि बाहेक सबै वडातहमा करिब ६००० भन्दा बढी नगर र वडास्तराय योजनाहरू सम्पन्न भएका छन् ।

भूमिहिन, सुकुम्बासी, दलित तथा अव्यवस्थित ऐलानी जग्गा नापी लालपुर्जा वितरण गर्न मात्रै बाँकी छ । जसका लागि वडा नं. १, २, ३, ६, १२ र १३ को ऐलानी जमिन नापी भएर स्रेस्ता तयार भइसकेको छ भने वडा नं. १० र ११ मा नापी सरू गरिसकिएको छ । यसरी तत्कालै पहिलो प्राथमिकतामा राखेर सबै वडातहमा लालपुर्जा वितरणको काम गरिनेछ ।

उज्यालो नगर निर्माणको परिकल्पना साकार पार्ने उद्देश्यले ९५ प्रतिशत स्थानमा विद्युतको पहुँच पुरयाई उज्यालो नगर घोषणा गरिसकिएको छ । उज्यालो नगर योजनालाई दीगोपना दिनका लागि १० मेगावाटको सोलार प्लाण्ट स्थापनाको काम अघि बढिसकेको छ । फूसको छानो विस्थापन, पारदर्शी सामाजिक सुरक्षा वितरण प्रणाली, धूवारहित चुल्हो आमाको स्वास्थ्य ठूलो कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै, ज्येष्ठ नागरिकको सहाराका रूपमा रहेको लौरो र रेडियो वितरण गरिएको छ । त्रियुगाका ६ वटा स्वास्थ्य केन्द्रबाटै सुत्केरी प्रसुती सेवा सञ्चालन गर्दै ल्याब सहितको प्रयोगशाला समेत स्थापना भईसकेको छ । प्रत्येक वडामा स्थापित आधारभुत स्वास्थ्य केन्द्रबाट नगरवासीले सेवा लिइरहनु भएको छ ।

यसबीचमा नगरपालिका सञ्चालनका लागि आवश्यक १५ वटा ऐन र ६१ वटा नियमावली कार्यविधि बनिसकेका छन् भने ३७३ टोल विकास संस्था गठन भएका छन् ।

नेपाल सरकारले त्रियुगा नगरपालिकालाई ‘क’ श्रेणीमा राखेको विषय सम्पूर्ण नगरवासीका लागि गर्वको विषय बनेको छ । बरूवा र त्रियुगा बसपार्क व्यवस्थापन भईरहेको छ । चक्लाबन्दी कषि खेतीलाई प्रोत्साहन गर्दै आधुनिक र व्यवस्थित तरकारी बजार निर्माणका लागि कोल्ड चेम्बर निर्माण गरिएको छ ।

अत्याधनिक १६ करोडको लागतमा नगरपालिकाको भवन निर्माण प्रारम्भ भएको छ । गाईघाटलाई सुन्दर, सफा र हराभरा बनाउनका लागि क्लिनसिटी र ग्रिनसिटीको अवधारणालाई कार्यान्वयन भएको छ । जसका लागि १३ करोडको लगानीमा फोहोर व्यवस्थापन तथा उर्जा केन्द्र स्थापना गरिएको छ । त्यस्तै, वडा नं. १२ मा मेयर्स पार्क निर्माण कार्य थालनी भईसकेको छ । परेवाखोप सिमसार क्षेत्र, जोरपोखरी सिमसार क्षेत्र, बगाहा–फार्सेट सिमसार क्षेत्र संरक्षण गरी पिकनिक स्पोर्टका रूपमा विकास गरिएको छ ।

र, अन्त्यमा
तपाईलाई खुशी र सुखी बनाउन गर्नुपर्ने कामका लागि स्रोत, जनशक्ति र समयको संयोजन गर्दै अहोरात्र काम गर्नेछौं । गर्न सक्ने र हुने काम हामी तपाईको सुझावका आधारमा सबै गछौँ । गर्न नहुने काम केही गर्दैनौं । त्यसैले यसपटक क. बलदेव चौधरीको नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को कलम चिन्हमा मेयरका लागि र नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हसिया हथौडामा क. गीता खड्का कार्कीलाई उपमेयरका लागि मतदान गर्नुहुन अनुरोध गर्दछौं । साथै, संयुक्त प्यानलका सम्पूर्ण वडा अध्यक्ष, वडा सदस्यहरूलाई मतदान गरी विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएका छौं ।

त्रियुगा नगरपालिका
संयुक्त गठबन्धन नगर चुनाव प्रचार प्रसार समिति
उदयपुर

 

 

तपाईको प्रतिक्रिया