उदयपुर । आउँदो ३० गते हुन लागेको स्थानीयत निर्वाचनमा नेकपा (एमाले) उदयपुरबाट छानिएका उम्मेदवारहरुमा पूर्व माधव नेपाल समूह बढारिएको छ । जिल्लाका ४ नगर र ४ गाउँ गरी ८ स्थानीयतहमा प्रमुख, उपप्रमुखदेखि वडाध्यक्षसम्म पूर्व नेपाल समूहबाट परेका छैनन् ।
उम्मेदवार छान्दा पूर्व ओली समूहका नेताहरु मात्र सिफारिसमा परेपछि आफुहरु बिद्रो गर्नुपर्ने अवस्था आईलागेको एक असन्तुष्ट नेताले बताए । पूर्व नेपाल समूहलाई कतै नसमेटी उम्मेदवार छनौट गरेको भन्दै ती नेताले यस्तो तरिकाले चुनाव जित्न पनि मुस्किल पर्ने बताए । धेरै ठाउँमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने बेलामा आफ्नै पार्टीभित्र पूर्व गुटगत निर्णय भएपछि चुनाव हार्ने सम्भावना बढेर गएको असन्तुष्ट पक्षको भनाई छ ।
एमालेले बेलका र कटारी नगरपालिकाको मेयरमा पुरानै अनुहार ल्याइएको छ । तर, दुवै नगरमा उपमेयर भने नयाँ अनुहार ल्याएको छ । बेलकाका यसअघिकै मेयर दुर्गा थापालाई अघि सारेको छ । उनी सुरुदेखि ओली समूहमा छन् भने नेपाल समूहबाट टिकट पाएर मेयर जितेका कटारीका प्रत्यासी ज्ञानेन्द्र श्रेष्ठ केपी ओलीले संसद बिघटन गरेपछि कित्ता परिवर्तन गरेका हुन् । उपमेयरमा उम्मेदवार बनेकी गीता खड्का पनि ओली समूहकै हुन् । ओली समूहबाट उपमेयर बनेकी निर्वतमान उपमेयर भिम कुमारी राउतले मेयरको टिकट नपाएपछि अहिले उनले बागी उम्मेदबारी दर्ता गराएकी छिन् ।
यता त्रियुगा नगरपालिकामा मेयरका उम्मेदवार बनाइएका भागवत राउत पुरानै ओली गुटका हुन् । उपमेयरमा टिकट पाएकी महेश्वरी राई संसद बिघटनको कदमपछि ओली समूहमा लागेकी हुन् । त्यसैगरी चौदण्डीगढी नगरमा मेयरका उम्मेदवार कालु लामा र उपमेयरको टिकट पाएकी मणिका दुलाल पनि ओली समूहकै हुन् ।
लिमचुङब्ङ गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका राजकुमार राई, ताप्ली गाउँपालिका अध्यक्षका उम्मेदवार बाबुराम राई, उदयपुरगढी अध्यक्षका उम्मेदवार गोपाल खत्री र रौतामाईको अध्यक्षको टिकन पाउने भरत थापा सबै ओली समूहकै हुन् । ताप्लीका अध्यक्ष उद्धवसिंह थापा नेपाल समूहबाट गत चुनावमा जितेका हुन् । उनले प्रतिगमन विरुद्धमा नेपाल समूहमा भएपनि सर्वोच्च अदालतले एमाले र माओवादी छुट्टाछुट्टै पार्टीको मान्यता दिएपछि उनी एमालेमै बसे । ताप्लीबाट उपाध्यक्षमा अध्यक्ष थापाकी श्रीमति मान कुमारी थापाले टिकट पाएकी छिन् ।
लिमचुङबुङमा यसअघिको चुनावमा पराजित अध्यक्ष उम्मेदवार भलराज राई नेपाल समूहका थिए । उनी पनि पछिल्लो समय ओली समूहमा गएका हुन् । तत्काली नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद बिघटन गरेको कदमलाई प्रतिगमनको संज्ञा दिदै माधव, झलनाथ र प्रचण्डले गरेको आन्दोलनमा सहभागी भएका पार्टीका पूर्व जिल्ला अध्यक्ष इश्वरमणि राउतले अन्तिम चरणमा टिकट पाएनन् ।
नेकपा विघटनपछि एमालेमै बसेका उनको टिकट अन्तिम समयसम्म ओली समूहका दावेदार भागवत राउतले उछिटयाएका हुन् ।
यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकाको लागि उपमेयरको टिकट पाएकी सृजना दनुवारको काठमाडौंमा मतदाता नामावली भएपछि अन्तिममा हिस्स परेकी थिइन् । यस पटकको चुनावमा बलियो उम्मेदबार मानिएकी दनुवार अन्तिममा महेश्वरी राईले उपमेयरमा बाजी मारिन । स्रोतका अनुसार करिव एक वर्षदेखि दनुवार र भागवत राउतको बोलचाल नरहेकोले सोही समूहले सृजनाको नाम काट्न लगाएको आरोप लगाएको छ । उनी महिला नेतृत्वको अब्बल उम्मेदबार हुन् ।
त्रियुगामा यसअघि नेपाल समूहबाट मेयर बनेका बलदेव चौधरी भने नेकपा (एस)मा लागेका छन् । उनी माओबादीसँग गठबन्धन गरेर मेयरमा उम्मेदवार बनेका छन् । नेपाल समूहबाट टिकट पाएका उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरले नेकपा एसबाट गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदबार पाएका छन् । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले साथ दिने भएको छ ।
टिकट बितरणसँगै एमालेभित्र अन्तरसंघर्ष चर्किएको छ । असन्तुष्टहरुले बागी उम्मेदवारी हाल्ने तयारी पनि गरेका छन् । लिमचुङब्ङ गाउँपालिका अध्यक्षका चर्का दावेदार पुराना एमाले नेता यादवकुमार राईले टिकट नपाएपछि बागी हाल्ने घोषणा गरेका छन् । आईतबार विहान गाईघाटमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीले आफुलाई बेवास्ता गरेकाले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको घोषणा गरेका हुन् ।
यस्तै एमालेबाट विजय बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले पनि बागी उम्मेदबारीको तयारी गरेको स्रोतले जनाएको छ ।









