उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहले विधान विपरित बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले उद्योगी व्यवसायीहरुको लागि गलपासो सावित भएको छ । आज त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश विश्वकर्मा र निर्वतमान महासचिव चुडामणि कार्कीको छुट्टाछुट्टै रिट माथि उच्च अदालत विराटनगरमा पेशी तोकिएको छ ।
उपाध्यक्ष रमेश विश्वकर्माले गत मंसिर १३ गते जिल्ला प्रशासन कार्यालय उदयपुर, प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव र एनसिसी बैंक गाईघाट विरुद्ध दायर गरेको मुद्धाको पेशी आज पौष ५ गते तोकिएको छ भने निर्वतमान महासचिव कार्कीले पुस ३ गते हुन लागेको साधारण सभा र अधिवेशन रोक्न माग गर्दै पुस १ गते दिएको अल्पकालिन आदेशको पेशी आजै तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयले मंसिर १२ गते एक सूचना जारी गर्दै त्रियुगा उद्योग वाणिज्य संघको कार्य समितिको म्यदा समाप्त भएको भन्दै आर्थिक पारदर्शिताको प्रश्न समेत उठिरहेकोले संस्थाको नामको कारोबारको छानविन गर्नको लागि तत्काल संस्थाको नाममा रहेको बैंक खाताहरु रोक्का राख्न निर्देशन दिएकोको भोलि पल्ट (मंसिर) १३ गते जिल्ला प्रशासन कार्यालयको निर्णय विरुद्ध कानूनी उपचारको लागि उपाध्यक्ष रमेश पक्ष उच्च अदालतमा रिट दायर गरेको थियो । उपाध्यक्ष विकको अख्तियार प्राप्त सोमनाथ ढुंगानाले संस्था भित्रको आर्थिक अनियमिता छानविन नगर्न, संघको कार्यबहाक अध्यक्ष आफु नै रहेको र बैंक खाता संचालन गर्न पाउँ भन्दै उत्प्रेषणको मुद्धा दायर गर्दै अन्तिरिम आदेशको लागि अदालत पुगेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश जगतनारायण प्रधानको मंसिर १४ गतेको एकल इजलासले जिल्ला प्रशासन कार्यालय उदयपुर, प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादव र एनसिसी बैंक गाईघाट शाखालाई मंसिर २२ गते छलफलको लागि झिकाउन कारण देखाउ आदेश गरेको थियो । त्यस दिन हेर्न नमिल्ने भन्दै मंसिर २४ गते पेशी सरेको थियो । मंसिर २४ गतेको पेशीमा पनि हेर्न नमिल्ने भन्दै लामो पेशी पुस ५ गतेको लागि सारेको थियो । पेशी सर्नुको मुख्य कारण भने विश्वकर्माले पुस ३ गते गर्ने भनिएको साधारण सभा र अधिवेशन गर्ने र पुस ५ गते तोकिएको पेशीको मुद्धा आफुहरुले फिर्ता लिएर जिल्ला प्रशासन कार्यालयमा आधिकारिकता माग गर्ने लक्ष्य सहित सारिएको स्रोतले जनाएको छ ।

यस्तै निर्वतमान महासचिव कार्कीले त्रियुगा उद्योग वाणिज्य संघको मुद्धा उच्च अदालतमा विचारधिन रहेको, संघमा आधा भन्दा बढी सदस्यहरुको नामावली हटाएको र उपाध्यक्ष विश्वकर्मा समूहले पुस ३ गते गर्न लागेको साधारण सभा र अधिवेशन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुर र उपाध्यक्ष रमेश विश्वकर्मा विरुद्ध निशेधज्ञा परमादेश प्रतिशेधको मुद्धा दायर गरेको थियो । यस मुद्धाको पेशी पनि आजै ५ गते छलफलको लागि तोकिएको छ ।

फोटो क्याप्सन : रमेश विश्वकर्मा पक्षले उच्च अदालत विराटनगरमा जिल्ला प्रशासन कार्यालय उदयपुर, प्रजिअ विरेन्द्रकुमार यादव र एनसिसी बैंक विरुद्ध दायर गरेको उत्प्रेषणको मुद्धाको २०७८ पुस ५ गते तोकिएको पेशीको विवरण रातोघेरा भित्र । स्रोत : सर्वोच्च अदालतको वेबसाइटबाट

तपाईको प्रतिक्रिया