उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली पक्षको बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले उद्योगी व्यवसायीहरुको लागि गलपासो सावित भएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै त्रियुगा उद्योग वाणिज्य संघको कार्य समितिको म्यदा समाप्त भएको भन्दै आर्थिक पारदर्शिताको प्रश्न समेत उठिरहेकोले संस्थाको नामको कारोबारको छानविन गर्नको लागि तत्काल संस्थाको नाममा रहेको बैंक खाताहरु रोक्का राखेको छ । जिल्ला प्रशासन कार्यालयको निर्णय विरुद्ध कानूनी उपचारको लागि उपाध्यक्ष रमेश रसाइली पक्ष फेरि उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुर, प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव र एनसिसी बैंक गाईघाट शाखालाई प्रतिवादी बनाएर उत्प्रेषण परमादेश प्रतिशेध समेतको मुद्धा लिएर अदालत पुगेको हो ।
उपाध्यक्ष रसाइलीको अख्तियार प्राप्त सोमनाथ ढुंगानाले बैंक खाता संचालन गर्न पाउँ भन्दै मुद्धा दायर गरेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश जगतनारायण प्रधानको एकल इजलासले जिल्ला प्रशासन कार्यालय उदयपुर, प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादव र एनसिसी बैंक गाईघाट शाखालाई छलफलको लागि बोलाउने आदेश गरेको छ । वादीको माग दावी बमोजिम बैंक खाता संचालन गर्न अदालतले आदेश दिइएको छैन् ।









