उदयपुर । उदयपुरको अति विकट कटारी नगरपालिका १ स्थित पोखरिया गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घले र कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले बुधबार एक कार्यक्रम विच विद्युतको स्विच थिचेर वत्तिको उद्घाटन गरेका थिए ।
नेपाल विद्युत प्राधिकरण र कटारी नगरपालिकाको सहकार्यमा पहिलो पटक पोखरियामा राष्ट्रिय प्रणालीको विद्युत पुर्याएको हो । नेपाल विद्युत प्राधिकरणको झण्डै ८५ लाख रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी गाउँमा विद्युत सेवा विस्तार गरेको प्राधिकरण उदयपुर वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर सत्यनारायण साहले जानकारी दिए । उनका अनुसार प्राधिकरणले कटारी नगरपालिका २ ग्राँसमा ११ केभीएबाट बेलस्रोत, कालिखोला हुँदै पोखरिया गाउँमा ५० केभीको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको छ ।

गत आर्थिक वर्षमा कालिखोलासम्म ४२ वटा पोल र चालु आर्थिक वर्षमा ६० वटा पोल हाइटेन्शन पोल विस्तारसँगै विद्युत पोखरियामा पुगेको सूचना अधिकारी साहले जानकारी दिए ।

यस्तै ५० केभिको ट्रान्सफर्मर मार्फत ६० वटा लोटेन्शन पोलमा विद्युत प्रवाह गरिएको कटारी शाखा प्रमुख लक्ष्मण साहले जानकारी दिए । अहिले ३० घरमा मिटर जडान गरी विद्युत वत्तिको उद्घाटन गरिएको छ केहि दिनमा थप ३० घरमा मिटर जडान गरिने विद्युत उनले बताए ।गाउँमा प्राधिकरणको विद्युत सेवा पुगेपछि स्थानीयबासी हर्षित भएका छन् । लामो समयदेखि टुकिको भरमा उज्यालो बनाउँदै आएका गाउँमा विद्युत सेवा विस्तार गरेपछि जनजीवन सहज भएको स्थानीय समाजसेवी जग्गु साहले बताए ।

बल्ल दिगो र परभर्दो विद्युत सेवा आइपुगेको छ । यसले हामी गाउँलेको मन नै उज्यालो भएको स्थानीय समाजसेवी सालले बताए । गाउँमा विद्युत पुगेपछि मोबाइल चार्ज गर्न, टिभी हेर्न, फर्निचर उद्योग खोल्न, कुखुरा पालन गर्न सहज हुने स्थानीय समाजसेवी साहले बताए । गाउँमा विद्युत पुगेपछि केटाकेटीहरुलाई पठनपाठन गर्न सजिलो हुने भएको छ ।

भौगोलिक विकटताका कारण नगरपालिकाको पहलमा विजुली पोखरियासम्म पुगेको मेयर श्रेष्ठले बताए । उनका अनुसार ट्रान्सफर्मर, पोल ढुवानी लगायतको कामको लागि नगरपालिकाले सहयोग गरेको बताए । लामो प्रयास स्वरुप पोखरियामा विद्युत पुगेको छ । गाउँमा विद्युतको पहुँच पुगेसँगै अब स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज भएको मेयर श्रेष्ठले । मेयरले भने, ‘यस्ता कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्छ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच यस गाउँका जनताका लागि आवश्यक थियो । अब लाइन आइसक्यो । उद्योग, व्यवसाय सञ्चालन गर्न सहयोग पुग्नेछ ।’ यस वर्षको तिहार गाउँ नै झिलिमिली हुने मेयर श्रेष्ठले बताए ।

पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घलेले सवैको साथ सयोगले आज पोखरिया गाउँ झिलीमिली भएको बताए । गाउँमा विजुली पुर्याउन सहयोग गर्न सवैको साथ सहयोग रहेकोले पछिल्लो दिनमा पनि साथ सहयोग रहने बताईन् ।

चुरेको टुप्पोमा बाटो पुग्यो उदयपुरको कटारी नगरपालिका १ विकट गाउँ चुरेको टुप्पोमा रहेको बस्ती पोखरियासम्म बाटो पुगेको छ । पूर्व प्रदेश कृषि सहकारी राज्यमन्त्री कला घले र कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले बुधबार एक कार्यक्रम विच बाटोको उद्घाटन रिवन काटेर गरेका छन् ।

कटारी नगरपालिका बन्नु अघि नै ट्राक खोल्ने काम भएपनि पूर्ण रुपमा सफल भएको थिएन । सफल नभएपछि चालु आर्थिक वर्षको बजेटबाट ट्राक खोलेर गाडी चलाउनको लागि बाटोको उद्घाटन गरिएको नगरपालिका इन्जिनियर ओम मिश्राले जानकारी दिए । उनका अनुसार नगरपालिकाको ५ लाख र अरु श्रमदान गरी करिव १२ लाखको लागतमा ट्राक खोल्ने काम भएको छ । जेसिवी मेसिन खर्च बापत नगरपालिकाले भुप्तानी गरेको छ भने बाँकी कामहरु गाउँलेले गरेको स्थानीय समाजसेवी जग्गु साहले बताए ।
बाटो नहुँदा हिडडुल गर्न अप्ठयारो समेत भएपछि गाउँलेहरु आफैले पनि ऋणपान गरेर बाटोको ट्राक खोल्ने काम भएको छ । उनका अनुसार कालीखोलाबाट पोखरियासम्म ५ किलो मिटर रहेको छ ।

तपाईको प्रतिक्रिया