उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा करिव डेढ दर्जन कर्मचारी उमेर हद वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका छन् । २०७८ बैशाखदेखि असोज मसान्तसम्म अवकाश पाउनेमा नायव महाप्रबन्धक, निर्देशक देखि हेल्पर र पालेसम्म रहेका छन् ।उमेर वा सेवा अवधिका कारणले अवकाश पाएका उनीहरु उपदान नपाएर रित्तो हात घर फर्किंदै छन् । अवकाश पाएका डेढ दर्जन बढी कर्मचारीहरुले उपदान (निवृत्तभरण रकम) नपाएको गुनासो उद्योगको कर्मचारीवृत्तमा छताछुल्ल भएको छ ।

अनिवार्य अवकाश वा उमेर हदका कारणले अवकाश पाएका डेढ दर्जन कर्मचारीहरुले उपदान, संचित विदा वापतको रकम र औषधि उपचार वापत रकम गरी कम्तीमा एक जनाले ३५ लाख देखि ५५ लाखसम्म पाउने अनुमान गरिएको छ । उद्योगमा २५/३० वर्ष सेवा गरेवापत कर्मचारीहरु रित्तो हात घर फर्किका कर्मचारीहरुको दशैं खल्लो भएको एक वरिष्ठ कर्मचारीले बताए । उनले भने, –“उपदानको रकम आज आउँछ भोली आउँछ भन्दा भन्दै ६ महिना वित्यो । उद्योगले उपदान रकम दिने कुनै सुरसार गरेको छैन् ।”

अवकाश पाएर आफ्नो घर फर्केका कर्मचारीहरु कतिले अवकाश पछि उपदानको रकमले ठू–ठूला सपना बुनेका सपना चकनाचुर भएको अवकाश प्राप्त अर्का कर्मचारीले बताए । उनका अनुसार उपदान रकम मात्रै होइन संचित विदा वापतको रकम र औषधि उपचार खर्च समेत नपाएको गुनासो गरे । उनका अनुसार ६ महिना अवधिमा अवकाश प्राप्त कर्मचारीहरुको करिव ८ करोड जतिको उपदान रकम महाप्रबन्धकले रोकेर राखेको बताए ।

यस्तै कोरोना भाइरसबाट शम्भु ठाकुर र करेन्ट लागेर जगदिश प्रसाद पोखरेलको मृत्यु भईसकेको छ । मृतक परिवारले उपदान वापतको रकम पनि पाउन सकेको छैनन् ।

पहिले पहिले अवकाश प्राप्त कर्मचारीले बढीमा डेढ महिना भित्रमा उपदान, औषधि उपचार, संचित विदा वापतको रकम पाउने गरेपनि पछिल्लो समय ६ महिना वित्दा पनि रकम नपाएको एक कर्मचारीले बताए ।

यस अघिका दिनहरुमा उपदान वापत विक्रीको दैनिक जसो रकम जम्मा हुने गरेको एक कर्मचारीले बताए । उनका अनुसार ग्लोबल अइएमइ बैंकमा उपदान वापत विक्रीको दिन दैनिक जसो ५ लाख जम्मा हुने गरेकोले अहिले उक्त खातामा पैसा नै जम्मा हुन छोडेको बताए । अहिले अवकाश प्राप्त कर्मचारीको फाइल पनि अगाडी नबढेर कस्ले कति रकम पाउने बारे एकिन नभएको प्रशासन शाखाका एक कर्मचारीले बताए । उपदान वापतको रकम समयमै दिन नसक्दा उद्योगको दायित्व दिन प्रतिदिन बढ्दै गएको छ । उद्योगको दायित्व बढ्दै जाँदा उद्योग एकमुष्ट उपदान दिन नसकेर धारासाहि हुन सक्ने अनुमान गरिएको एक कर्मचारीले बताए ।

पहिले पहिले उद्योग चलेमा मासिक रुपमा उपदान वापत ५०/६० लाख जम्मा हुन्थ्यो । एक दुई जना कर्मचारी अवकाश भएपछि उनीहरुलाई महिनादिन भित्र अवकाश वापतको उपदान पाउने गरेको थियो तर अहिले ६ महिनादेखि कुनै पनि रकम जम्मा नभएको एक कर्मचारीले जानकारी दिए ।

पैसा नभएर उपदान वापतको रकम दिन नसकेको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपी कृष्ण न्यौपानेले बताए । उनका अनुसार पहिले पहिले अवकाश प्राप्त कर्मचारीको निकासा गरेपनि पछिल्लो चरणमा अवकाश प्राप्त कर्मचारीको रकम पैसा नभएर निकासा दिन नसकेको बताए । उनले भने, “हामीले गर्नु पर्ने काम गरिरहेका छौं । सिमेन्ट विक्री हुने वितिक्कै पैसा जम्मा गरिदिन्छौं ।”

अनिवार्य अवकाश वा सेवा अवधिपछि पाउनु पर्ने उपदान रकमको जोहो गर्न वा उपलब्ध गराउन उद्योगमा क्रियाशिल रहेका ट्रेड युनियनहरुले केही बोलेका छैनन् ।

तपाईको प्रतिक्रिया