उदयपुर । अशक्त भएर बैंकमा समाजिक सुरक्षा भत्ता लिन आउन नसक्नेहरुलाई त्रियुगा नगरपालिकाले घरमै पुगेर भत्ता वितरण सुरु गरेको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगर क्षेत्र भित्रका अशक्तहरुलाई घरमै पुगेर बृद्ध भत्ता उपलब्ध गराउनु भएको हो ।सनराईज बैकसँगको सहकार्यमा त्रियुगा नगरपालिकाले शारीरिक रुपमा हिडडुल गर्न नसक्ने नगरबासीलाई घर घरमा गएर रकम हस्तान्तरण गरेको त्रियुगा नगरपालिकाले जनाएको छ ।

त्रियुगा नगरपालिका वडा नम्बर ७ गुन्टे निवासी ७३ बर्षिया सनमाया दनुवार र काली खोला निवासी ७६ बर्षिया मनमाया घिमिरे क्षेत्रीलाई बिहिबार मेयर बलदेव चौधरीले घरमै पुगेर रकम हस्तान्तण गरे । सनराईज बैकका शाखा प्रबन्धक संजय गेलाल सहितको टोलीले घरमै सामाजिक सुरक्षा वापतको रकम उपलब्ध गराएपछि बृद्धाहरु खुसी भए ।

नगर प्रमुख आफै भत्ता लिएर आफ्नो घरमा आएर हस्तान्तरण गर्दा आफुहरु धेरै हर्षित बनेको बृद्धका आफन्त रन्जु दनुवारले बताईन । ‘मेरो हजुर आमा सासु हिडडुल गर्न सक्नु हुन्दैन थियो, त्रियुगा नगरपालिकाका मेयर नै आएर रकम दिनु भयो ।’ त्रियुगा नगरपालिकाको तारिफ गर्दै दनुवारले भनिन् ‘नगरपालिकाले नगरबासीमा खुसी ल्याउन ठुला योजनाको कुरा गर्नु पर्दैन साना साना कुराहरुमा ध्यान दिए स्थानीय सरकार प्रति अझ विश्वास बढ्ने थियो ।’

बृद्ध भत्ता पुर्यान घरमा नै स्थानीय सरकार प्रमुख आउदाँ राम्रो सन्देश गएको गुन्टेका स्थानीय मानबहादुर दनुवारले बताए ।
उनले भने ‘स्थानीय सरकारले यसरी काम गर्दै जाने हो भने स्थानीय सरकारको छवी झन उचो हुनेमा दुई मत छैन ।’

यता बैकको लोक कल्लाणकारी कार्यक्रम अनुरुप घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको सनराईज बैकका शाखा प्रबन्धक संजय गेलालले बताए ।

गेलालका अनुसार बैंकको छुट्टै नीति नियम र आचार संहिता भए पनि अपाङ्ग, अशक्तहरुलाई घरमै पुगेर भत्ता वितरण गरिएको जानकारी दिए । जनशक्ति अभाव र सुरक्षाको कारण सबै बृद्धबृद्धालाई घरमै पुगेर रकम बुझाउन नसके पनि केही बैंक आउनै नसक्नेलाई घरमै पुगेर बृद्ध भत्ता वितरण गर्ने गरिएको छ ।

सनराईज बैकले त्रियुगा नगरपालिकाको वडा नम्बर ५, ६ र ७ नम्बर वडाका करिब १४ सय बृद्ध बृद्धा, बिधवा, अपाङ्ग, बालबालिकालाई भत्ता उपलब्ध गराउदै आएको छ ।

नगरपालिकाको कृषि विकास बैक, लक्ष्मी बैक, एनआईसी एसिया बैक, सनराईज बैक, सिभिल बैक, एनसीसी बैक, ग्लोबल बैक, माछापुछ्रे बैकले सामाजिक सुरक्षा भक्ता वितरण गर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया