उदयपुर, सदमुकाम गाईघाट बोक्सेमा रहेको उदयपुर जिल्ला अस्पतालमा डेढ महिनादेखि प्रसूति सम्बन्धीको डाक्टर नभएपछि अहिले अधिकांश प्रसूति सम्बन्धी बिरामीले दुःख कष्ट भोग्नुपरेको छ ।
अस्पतालका प्रसूति सम्बन्धी चिकित्सक पवन साह र अर्का चिकित्सक विशाल देवको सरुवा भएर अन्यत्र गएसँगै डेढ महिनादेखि उदयपुरका प्रसूतिसम्बन्धी बिरामीले उपचारको लागि एम्बुलेन्समा दशौँ हजार खर्च गरेर धरान तथा विराटनगर जान बाध्य हुनु परेको बिरामीका आफन्त बताउँछन् ।
चिकित्सकको अभावमा जिल्ला अस्पतालमा प्रसूतिसम्बन्धी शल्यक्रियासहितको उपचार हुन नसकेपछि अहिले जिल्लाको पहाडी क्षेत्रसहित पूर्वी र पश्चिमी क्षेत्रका बिरामी महँगो खर्चमा विराटनगर जान बाध्य हुनुपरेको त्रियुगा नगरपालिका–३ का गणेश दाहालले बताए ।
यसै विषयमा जिल्ला अस्पतालका डाक्टर विष्णु बहादुर बस्नेतलाई सम्पर्क गर्दा दुई चार दिनमा स्त्री रोग विशेषज्ञ आउने बताए । उनका अनुसार प्रक्रियामा रहेकोले अन्य जिल्ला भन्दा उदयपुरमा पहिले आउने बताए । उनका अनुसार अहिले विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डाक्टर ल्याएर सेवा दिई रहेको समेत बताए ।
चिकित्सक सरुवा हुने बित्तिकै आफूले प्रदेश सरकारका सम्बन्धित मन्त्रीलाई तुरुन्त अर्को डाक्टर व्यवस्था गरिदिन अनुरोध गरे पनि अहिलेसम्म व्यवस्था हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारले बताए ।

तपाईको प्रतिक्रिया