उदयपुर, प्रायः सवैले सोचेको हुन्छ कि विद्युत पुगेपछि वत्ती बल्छ । विद्युतको पोल पुग्यो, तार पुग्यो, ट्रान्सफर्मर पुग्यो र मेनलाइनमा समेत जोडियो । तर, जोडिएपनि न्यून भोल्टका कारण त्रियुगा नगरपालिका भित्रैका वस्तीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । त्रियुगा नगरपालिका उत्तरबारी टोल देउरी बस्तीमा विद्युतको भोल्टेज नपुग्दा विद्युत पुगे पनि २ वर्षदेखि अन्धाकारमा बस्न बाध्य भएका छन् ।
त्रियुगा नगरपालिका वडा नं ८ र ९ मा पर्ने उत्तरबारी टोल देउरीका बासिन्दाहरु २ वर्ष देखि विद्युतको भोल्टेज नपुग्दा अन्धाकारमा बस्न बाभएका हुन् । उत्तरबारी टोल देउरी त्रियुगा नगरपालिकाका पूर्व उपमेयर रामवती चौधरी र वर्तमान उपमेयर देवी कुमारी चौधरी पुर्खौली गाउँ हो । वर्तमान उपमेयर त्यहाँ नबसेपछि दाजुभाईको घर छदैछ ।
ट्रान्सफर्मरको क्षमता विस्तारको लागि नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रमा पटक पटक निवेदन दिदा पनि वेवाश्था गरी दुई वर्ष देखि विद्युतको भोल्टेज नपुग्दा अन्धकारमा बस्न बाध्य भएर ध्यानकर्षण गराउन आएको पूर्व उप मेयर तथा समाजसेवी रामबती चौधरीले बताईन् ।
उनका अनुसार विद्युत विस्तार गर्दा थ्री फेजको लाईन लानु पर्नेमा टु फेजको मात्रै वितरण गरेकोले भोल्टेज नपुगेको बताईन् । उनका अनुसार टु फेज लाइन पनि करिव एक किलो मिटर टाढाबाट पठाउँदा वत्तिको आवश्यक परेको बेला बत्ति नबल्ने, गर्मीमा पंखा नचल्ने जस्ता समस्या भोग्दै आएको बताईन् ।
उत्तरबारी टोल देउरीका बस्तीहरुका बासिन्दाहरुले दुई वर्षदेखि समस्याको बारेमा विद्युत प्राधिकरणलाई जानकारी गराउँदा पनि कुनै चासो नदिइएको उनले बताईन् । उनले भनिन्– ‘विद्युत महशुल २ वर्षदेखि महिनै पिछै तिर्दै आएपनि अन्धकारमा बस्दै आएको छौं ।’ उनले गुनासो गर्दै भनिन्–‘केही दिन अगाडी कसैलाई पायक नपर्ने खोला छेउमा ट्रान्सफर्मर राखेको छ, त्यसले अन्धकार हल हुँदैन् ।’ थ्री फेज ट्रान्सफर्मर सहितको उपयुक्त ठाउँमा राखिनु पर्ने माग सहित विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गर्न आएको उनले बताईन् । उनका अनुसार सानो तिनो हावाहुरीले पनि ढल्न सक्ने पुरानो काठको जिर्ण अवस्थाको १५ वटाभन्दा बढी पोल फेर्नु पर्ने र सर्वसाधरणलाई सहज र सरल रुपमा विद्युत वितरण गर्नु पर्ने लगायतको माग सहित ध्यानाकर्षण गर्न आएको उनले बताईन् ।
विद्युत प्राधिकरण कार्यालयले आफ्नो वडामा काम गर्दा कुनै किसिमको जानकारी र समन्वयन नगरेकोले जनताहरुले दुःख पाएको वडा नं ८ का वडा अध्यक्ष कमल कुमार राउतले बताए ।
नयाँ बस्ती तथा विद्युत नपुगेको टोलमा वडा कार्यालयले पोलको व्यावस्था गरेको भएपनि पुरानो काठको पोललाई विद्युत कार्यालयले नै फेर्नु पर्ने राउतको भनाई रहेको छ । राउतले भने हामीसँग समन्वयन गरेको भए कुनै किसिमको समस्या आउने थिएन तर एकलौटी ढंगले काम गर्नाले जनतालाई ठूलो सास्ती खेप्नु परेको छ ।
विद्युत प्रसारण लाइन पु¥याए पनि भोल्टेज पु¥याउनलाई ट्रान्सफर्मर नराख्दा माटे खोला, बगरटोल, साहीखोला लगायतका थुप्रै बस्तीहरुका सर्वसाधरण जनताले विद्युतको समस्या भोग्दै आएको वडा अध्यक्ष राउतले बताए ।
विद्युत प्राधिकरणमा पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदै आएपनि सम्बन्धित निकायले वेवास्था गरेको सर्वसाधारणको गुनासो रहेको छ । बत्ति नबलेपछि सिचाई गर्न ल्याएको मोटर त्यसै थन्किएर बसेको स्थानीयहरुको गुनासो रहेको छ ।

तपाईको प्रतिक्रिया