काठमाडौं । माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा भएको विरोधसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहतिर रहेका दर्जनौं नेताहरू आफ्नो समूहमा फर्किनका लागि वार्तामा रहेको र तीमध्ये दुई जना त मन्त्री नै रहेको खुलाए ।
प्रचण्डको यो भनाइले भृकुटीमण्डपमा त धेरैको ताली पायो नै यसले प्रधानमन्त्री केपी शर्मा ओलीको टिममा पनि हलचल ल्याएको छ, जसले गर्दा बिहीबार उर्जामन्त्री टोपबहादुर रायमाझी विज्ञप्ती नै निकालेर स्पष्टिकरण दिन बाध्य भए ।
हुन त मन्त्री रहेका पूर्वएमालेकै नेताहरू पनि ओली पक्षबाट प्रचण्ड–माधव नेपाल खेमातिर नसर्लान भन्न सकिन्न । अहिले त प्रचण्डले दाबी गरे झैं मत्री बनेका को को पूर्वमाओवादी नेता फर्किने तर्खरमा छन् भन्ने पनि स्पष्ट खुलिसकेको छैन । तर प्रधानमन्त्री ओलीको साथ लागेर मन्त्री बनेका पूर्वमाओवादी नेताहरुमा चरम निराशा पैदा भएको तिनका निकटस्थहरुले बताएका छन् ।
मन्त्रालयका हरेक निर्णयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको तथा आफूले सिफारिस गरेका एक जनालाई पनि कतै नियुक्ति गराउन नसकेको भन्दै उनीहरु निराश भएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल खेमा छाडेर ओलीतिर लागेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट र उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिले पछुतो मान्न थालेको उनीहरुसँग निरन्तर सम्पर्कमा रहेका नेताहरुले बताए ।
खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, श्रममन्त्री गौरीशंकर चौधरी पनि पूर्व माओवादी हुन् ।
विभिन्न निकायमा नियुक्ति, मन्त्रालयका निर्णयलगायत विषयमा यी मन्त्रीहरुलाई कार्यकर्ताको ठूलो दबाब छ। तर, उनीहरु आफैँले कुनै पनि निर्णय गर्न सक्ने स्थिति छैन । त्यसैले कार्यकर्ताको दबाब थेग्न उनीहरुलाई गाह्रो परेको छ ।
हालै सरकारले भूमि समस्या समाधान आयोगमा नियुक्ति ग¥यो । उद्योगमन्त्री भट्टले आयोगमा सुदूरपश्चिमका केही व्यक्तिलाई नियुक्त गराउन खोजेका थिए । तर, उनले सिफारिस गरेका व्यक्तिहरु एक जना पनि नियुक्त भएनन् ।
भट्टले कैलाली र कञ्चनपुरबाट आयोगको अध्यक्ष बनाउन सिफारिस गरेका व्यक्ति नियुक्त नभएको भन्दै बलबहादुर महतराले केही दिनअघि भट्टको साथ छाडेका छन् ।
‘लेखराज भट्ट सर निकै निराश हुनुहुन्छ,’ उनलाई भेटेका एक नेताले भने, ‘उहाँले पार्टीको केन्द्रीय समितिमा मागेजति नपाएको र भूमि समस्या आयोगमा पनि आफूले भनेका नेताहरु नपरेको गुनासो गर्नुभयो ।’
त्यस्तै, गृहमन्त्री रामबहादुर थापा पनि अहिले ओलीसँग असन्तुष्ट छन् । उनको असन्तुष्टिको कारण हो– जनवर्गीय संगठनमा ओलीको एकलौटी। जसका कारण थापानिकट युवाहरुले राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय समिति बैठक नै बहिष्कार गरे । बहिष्कारबीच युवा संघमा नेतृत्व चयन गरिएपछि थापा असन्तुष्ट बनेको युवा संघका नेता विरु तामाङले बताए ।
‘युवा संघमा देखिएको अन्तरविरोध हल गर्छौँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ थापाको भनाइ उधृत गर्दै तामाङले भने, ‘यो निर्णयलाई पार्टीले मान्यता दिँदैन, अवैधानिक छ । फागुन २ गते स्थायी समिति बैठक बसेर यी सबै विवाद हल गर्छौँ ।’
थापाले यो विषयलाई ओली, महासचिव विष्णु पौडेल र जनवर्गीय संगठनका प्रमुख टोपबहादुर रायमाझीलाई समेत जानकारी गराएका थिए ।
युवाहरुले २ गते पनि विवाद समाधान नभए विद्रोह गर्ने चेतावनी दिएपछि थापा दबाबमा छन् । उर्जामन्त्री रायमाझीले पनि निकटस्थहरुसँग ओलीप्रतिको असन्तुष्टि पोख्न थालेका छन् ।
ठूला कार्यक्रमहरु आयोजना गर्दा आफूसँग परामर्श नगरिएको, मञ्चमा स्थान नदिइएको भन्दै उनले गुनासो गरेका हुन् । जनवर्गीय संगठनहरुको प्रमुख हुन् रायमाझी । तर, उनीसँग कसैले एक वचन पनि नसोधी युवा संघको भेला आयोजना गरेर नेतृत्व चयन गरियो । असन्तुष्ट युवाहरु रायमाझीलाई गुहार्न पुगेका थिए । त्यसबेला पनि उनले लाचारी प्रकट गरेका थिए ।
‘ओली समूहभित्र पनि साथीहरुको खिचातानी रहेछ, गुट, उपगुट रहेछन् । प्रधानमन्त्रीले भनेमात्र मिल्ने नत्र नमिलाउने रहेछन्,’ रायमाझीले युवाहरुसँग भनेका थिए ।
पछिल्ला दिनमा रायमाझी पनि जसपाका डा. भट्टराईसँग संवादमा छन् । माओवादीमा रहँदा लामो समय भट्टराईकै गुटमा थिए रायमाझी ।
पछिल्लो समय प्रचण्डलाई छाडेर ओलीतिर लागेका उनी प्रचण्ड र भट्टराईसँग पनि निरन्तर सम्पर्कमा रहेको स्रोतहरूको भनाइ छ । –नेपालखबर बाट









