काठमाडौं । नेकपा (प्रचण्ड(नेपाल) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ओली बा’ समूह खोल्न सुझाव दिएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपालले भने, ‘नेकपा मन परेको छैन भने समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ‘ओली बा’ समूह खोले सबैभन्दा राम्रो । ओली बा मन पराउने उतै जान्छन् ।’
नेपालले आफूहरुले ओलीलाई पार्टीबाट निष्कासन गरिसकेकाले ओलीको नेकपासँग कुनै सम्बन्ध नरहेको जिकिर गरे । ’उनको नेकपासँग कुनै सम्बन्ध छैन’, उनले भने ।
कार्यक्रममा नेपालले ओलीसँग आसेपासे र भक्ति गर्ने मात्र रहेको बताए । ओली समूहमा उनका साइबरसेना मात्रै रहेको नेपालको भनाइ छ ।
उनले ओली पक्षको माघ २३ गतेको सभामा २५–३० हजार मानिस जम्मा भएको बताए । ओली पक्षले सभामा ३ लाखभन्दा बढीको जनसागर उपस्थित भएको दाबी गरे पनि २५–३० हजारभन्दा बढी मानिस नआएको दाबी गरे ।
उनले भने, ’अस्ति पञ्च¥यालीमा स्यालहुइँय्या देखियो । मानिसहरू नआएपछि उनीहरू निराश भएर बसेका छन् । २५–३० हजार सहभागी भए । किन ल्याइनस् भन्दै गालीगलौज गरेर बसेका छन् ।’
उनले नेकपाको आधिकारिक धार आफूहरु भएको दाबी गर्दै ४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सयभन्दा बढी आफ्नो पक्षमा रहेको बताए । त्यसैले पनि उनले चुनाव चिन्ह सूर्य पनि आफूहरुकै हुने उनको दाबी छ ।
यसैगरी प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँमा हारिए नेपाली जनता र सिंगो देशले हार्ने पनि उनले बताए । उनले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ जित्न नेपाली जनता र सिंगो राष्ट्र जुट्नुपर्ने बताए ।
’यो संविधानलाई क्षतविक्षत बनाउने पक्ष र विपक्षको लडाइँ हो, लोकतन्त्रलाई र कमजोर बनाउने विचको लडाइँ हो, गणतन्त्र र संघीयतालाई सबल बनाउने र उपलब्धिलाई समाप्त पार्ने बीचको लडाइँ हो’, नेपालले भने, ’यो संघर्षमा जितियो भने नेपाली जनता र देशले जित्नेछ तर जित्न सकेनौं भने नेपाली जनता र राष्ट्रले हार्ने छ, त्यही भएर हामी सबै एकजुट हुनुपर्छ ।’









