सुरेश कुमार पांण्डेय, कपिलबस्तु । देशभरका ३९६ स्थानीय तहहरुमा सरकारले आज एक साथ अस्पताल शिलान्यास गरेको छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि ती स्थानीय तहमा १५ शैया सम्मका अस्पताल शिलान्यास हुने क्रममा कपिलबस्तुको ३ स्थानीय तहमा पनि अस्पतालको शिलान्यास गरिएको हो ।४४ हजार जनसंख्या रहेको कपिलबस्तुको यशोद्धरा गाउँपालिकामा ५ शैया अस्पताल, ५८ हजार जनसंख्या रहेको शुद्धोधन गाउँपालिकामा १० शैया र ४८ हजार जनसंख्या रहेको मायादेवी गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।
शिलान्यास भएका ती अस्पताल दुई वर्ष भित्रै सञ्चालनमा ल्याइने सरकारको तयारी छ । सरकारले ३ सय ९६ वटै अस्पताल बनाउन र उपकरण जोड्न रु.५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ खर्च गर्ने छन् ।
पाँच शैय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी हुने छन् । त्यस्तै १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी हुने छन् । १५ शैयाको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

तपाईको प्रतिक्रिया