उदयपुर । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

व्रतविधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । चार दशक अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन ।

यस वर्ष कोरोना महामारीबाट बच्न स्थानीय प्रशासनले भीडभाड नगरी सकेसम्म घरमै बसेर छठ पर्व मनाउन आह्वान गरेको छ । उदयपुरका त्रियुगा, बरुवा, तावा लगायतका नदीहरुमा जिल्ला प्रशासन कार्यालय उदयपुरले मंसिर ५ र ६ गते निशेधज्ञा जारी गरेको छ ।

त्रियुगा नदीमा यस वर्ष छठ पुजा नगरी घर घरमा गर्न त्रियुगा छठ समिति गाईघाटले अनुरोध गरेको छ । त्रियुगा छठ समितिका अध्यक्ष खेमनारायण यादवले यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको अध्यक्ष यादवले जनाए । भत्तालुहरुलाई यस वर्षको छठ पुजा घर घरमा मनाउन पनि अनुरोध गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया