उदयपुर / उदयपुरका एक नगरपालिकाका मेयर सडक कालोपत्रे गुणस्तर कायम गर्न आफै प्रत्यक्ष सहभागी भएर रोलर चलाएका छन् । आफ्नो नगरको विकासका लागि विभिन्न रचनात्मक कार्य गर्दै आएका उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले फेरी अर्काे रचनात्मक कार्य गरेका छन ।
नगरप्रमुख श्रेष्ठले कटारी बजार भित्र निर्माण भईरहेको कालोपत्रे सडकको गुणस्तर कायम गर्न आफैले रोलर चलाएका हुन । कालोपत्रे सडकमा गुणस्तरहीन काम हुन सक्ने भएकाले आफैले रोलर चलाएको हो । ‘सडक कालोपत्रेमा निर्माण व्यवसायीले स्टीमेट अनुसार काम नगरेकाले रोलरले कालोपत्रे पेलेको हुँ ।’ मेयर श्रेष्ठले भने ‘कटारी नगरपालिकाले विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता गर्न सक्दैन ।’ कटारी नगरपालिकाले नगरपालिका कार्यालय अगाडीको सडक कालोपत्रे गर्न ठेक्का दिएको थियो । तीन सय ८० मिटर सडक कालोपत्रे गर्न ३७ लाखमा निर्माण व्यवासायीलाई ठेक्का दिएपनि चित्त बुझ्दो काम नभएपछि मेयर श्रेष्ठले आफैले रोलर हाकेको प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जानकारी दिए । ‘कटारी नगरपालिकाले संचालन गर्ने योजनाहरु गुणस्तरयुक्त हुन भनेर हामीले निगरानी गर्दै कडाई गरेका छौ ।’ प्रमुख प्रशासकीय अधिकृत गौतमले भने ‘कटारी नगरपालिकाका मेयर श्रेष्ठले मै हँु भन्ने घमण्ड नगरिकन विकास निर्माणको गुणस्तर कायम राख्न प्राविधिकहरुलाई समेत सहयोग गरिरहनु भएको छ ।’ कटारी नगरपालिकाले आगामी चैत मसान्त भित्रै विकास निर्माणका योजनाहरु सक्ने गरी योजनाहरु संचालन गरिरहेको छ ।
समयमै योजना निर्माण सक्न गाउँ गाउँ प्राविधिक खटाएर योजनाको लगत स्टमेट बनाउने, वडा कार्यालयमै गएर योजना सम्झौता गर्ने जस्ता जनमैत्री कार्यहरु संचालन गरिरहेको कटारी नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले जानकारी दिए । मेयर श्रेष्ठले दमकल पठाएर वन डढेलो नियन्त्रण, नापी कार्यालयले लिएका अनुचित रकम फिर्ता लगाएतका मनछुने कामबाट चर्तित बनेका छन ।

कालोपत्रेको गुणस्तर कायम गर्न आफै रोलर चलाउदै मेयर श्रेष्ठ

Posted by Gaupalika.com गाउँपालिका on Wednesday, 26 December 2018

तपाईको प्रतिक्रिया