उदयपुर । नेपालीहरुको महान चाड बडा दसै सबैको घर घरमा आइसकेको छ । घपस्थापना देखी कोजाग्रत पूर्णीमा सम्म मनाईने यो पर्वको नेपाली समाजमा छुटै महत्व रहेको छ । असत्य माथि सत्यको जित भएको खुसिमा प्रत्यक बर्ष यो पर्व मनाउने गरीएको छ । घर भन्दा बाहिर रहेकाहरु पनि दसै मनाउन घर फर्किने गर्दछन् । पारिवारीक रुपमा जमघट भएर मनाईने यो पर्वमा लिङ्गे पिङको पनि छुटै महत्व रहेको छ ।
केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यस वर्षदेखि उदयपुरमा विरलै देख्न पाइन्छ । दशैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्नेको प्रतिस्पर्धा नै हुने गर्दथ्यो तर अहिले चाहेर पनि पिङ खेल्न पाएका छैनन् । दशैँका आगमनको शुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्यरुपमा मात्र केही स्थानमा देख्न पाईन्छ ।दशैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ भने विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको पुराना पुस्ताले बताउँछन् । एउटा जिल्लामा सयौँको संख्यामा देखिने यस्ता लिङ्गे पिङहरु यस वर्ष उदयपुर सदरमुकाम क्षेत्रमा देखिएका छैनन् भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् । बस्ती बाक्ँिलदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बावियाँको डोरीको समेत अभाव भएकाले पिङको संख्या कम हँुदै गएको त्रियुगा नगरपालिका ३ का स्थानीय रविन ढकाल बताउँछन् ।
दशैँको बेलामा प्रत्येक व्यक्तिले दशैंको टिकाको दिन एक पटक जमीनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको उहाँको भनाइ छ । वर्षको एक पटक जमीनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि अहिले पहिलाको जस्तो पिङ खेल्ने दशैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ । त्रियुगा नगरपालिका ४ का दिलिप खड्काले पिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न चाहना तीन वर्षदेखि अधुरै रहेको बताउनुभयो । विगतमा बाटोबाटोमा पिङ भेटिने भएकाले मामाघर जाँदा र अन्य क्षेत्रमा जाँदा पिङ खेल्न पाइने तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्नसमेत नपाइएको उहाँको भनाइ छ । केही युवापुस्ता भने पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको बताउँछन् । त्रियुगा नगरपालिका ३ का भुपध्वज कार्कीले पिङभन्दा पनि इन्टरनेटमा फेसबुक, ट्वीटर, टिकटक लगायत विभिन्न सामाजिक संजालको सहित इन्टरनेट गेम खेल्ने भएकाले पिङको महत्व घट्दै गएको बताउनुहुन्छ । नयाँ पुस्ता दशैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व घट्दै गएको उहाँको भनाइ छ ।
दशँैको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दशैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै गएपछि अवको दशै एकादेशको कथा बन्दै गएको हो ।

तपाईको प्रतिक्रिया