उदयपुर । उदयपुरको कटारीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शाखा सभाहल बनाउन स्थलगत अध्ययन भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी निर्देशक विद्रोही दाहाल, संघिय सांसद सुरेश कुमार राई (हिमाल), प्रदेश सांसद कला घले, कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउत लगायत राजनीतिक दलका प्रतिनिधि सहित प्राविधिक टोलीले कटारी नगरपालिकाका ताराघारी, नेपाल रेडक्रस भवन छेउ र उत्तरी बसपार्क जहडीका सार्वजनिक जग्गाको स्थलगत अध्ययन अनुगमन गरेको थियो ।स्थलगत अध्ययन टोलीले कटारी नगरपालिका ४ जहडी स्थित उत्तरी बसपार्क भएको करिव २ विगहा जग्गा सभा हल निर्माणको लागि उपयुक्त ठहर गरेको उपमेयर राउतले बताईन् ।

तत्कालिन गाविस हुँदा नै सार्वजनिक सम्पती संरक्षण समिति बनाएर सार्वजनिक जग्गाहरुको खोजी भएको मध्येको जहडीमा भएको जग्गामा सभा हलको लागि उपयुक्त रहेको प्राविधिक स्थलगत अध्ययन टोलीको ठहर रहेको छ । ताराघारी र नेपाल रेडक्रस सोसाइटी भवन छेउको जग्गा भवन बनाउन र पार्किङ्ग गर्न उपयुक्त नहुने भएपछि जहडीको जग्गामा सभा हल बन्न सक्ने स्थलगत अध्ययन टोलीले आग्रह गरेको उपमेयर राउतले बताईन् । उनका अनुसार नगरपालिकाको स्वामित्वमा रहेको सो जग्गा चाँडै नै नगर परिषद बसेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने बताईन् । जिल्लालाई केन्द्रसम्म जोड्न सहज हुने भएकोले पनि जग्गा उपलब्ध गराउने चाँडै नै टुङ्गो लगाउने उपमेयर राउतले बताईन् ।

अन्तर्राष्ट्रिय स्तरकै सभा हल निर्माण भएपछि यहाँ विभिन्न किसिमको सम्मेलन, व्यपारिक एग्जीभिसन लगायतका कार्यक्रमले कटारीको जनताको आयस्तरमा वृद्धि हुने उपमेयर राउतले बताईन् । उनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शाखा सभाहल बन्नु नै कटारीको शान पनि हुने बताईन् ।

यस अघि पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट जग्गा अध्ययन गर्न समिति आएको थियो ।

तपाईको प्रतिक्रिया