काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन्।

पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेकोसमेत बताए।

कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उनले आफू सुरक्षित रहँदै जितिया पर्व मनाउन आह्वानसमेत गरेका छन्।

आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ।

सप्तमीको बिहान बर्तालुले नदीमा गई तोरीको पिना प्रयोग गरेर नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ। रासस