उदयपुर / उदयपुरमा गत कात्र्तिक २५ गते बेलका नगरपालिका ८ रङ्गमहलमा दुर्घटनामा परि तीन जनाको मृत्यु र दुई जनाको अवस्था चिन्ताजनक, ३६ जना घाइते शिर्षकको समाचार नागरिक बहस डट कममा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटेको हो ।
थारु कल्याणकारिणी सभा दक्षिण कोरिया शाखाको सहयोगमा घाइतेहरुको उपचारको लागि ३७ हजार ८५ रुपैया उदयपुर दक्षिण कोरिया समाजका उपाध्यक्ष विद्यानन्द चौधरीमार्फत नागरिक बहस डट कमका संचालक सुखिलाल चौधरीलाई प्राप्त भएको थियो ।
थाकस दक्षिण कोरियाका अध्यक्ष शिव चौधरीका अनुसार संख्यामा हामी कम रहेपनि मानवताको नाताले थोरै रकम सहयोग गर्न पाउँदा हामी खुशी छौं । उक्त रकम बेलका नगरपालिका २ का वडाध्यक्ष तथा राहत संकलन समितिका संयोजक मिश्रीलाल चौधरीलाई हस्तान्तरण गरिएको हो । थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको सहयोगमा प्राप्त ३७ हजार ८५ रुपैया थारु कल्याणकारिणी सभा गाउँ कमिटी अध्यक्ष मिश्रीकान्त चौधरी, वडा नं. २ का वडा सदस्य कुमार अधिकारी, समाज सेवी नन्दीलाल चौधरी, कविन्द्र प्रधान, नेपाल पत्रकार महासंघका सहसचिव विदुर कटुवालको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको हो ।
यस्तै उदयपुर सेवा समाज दक्षिण कोरियाको तर्फबाट गत मंसिर २३ गते मृतकहरुका परिवार र घाइते भई उपचारार्थ हस्पिटलमा रहेकालाई ३८ हजार ४ सय ४० रुपैया हस्तान्तरण गरिएको समाजका उपाध्यक्ष विद्यानन्द चौधरीले म्यासेन्जरमार्फत जानकारी दिए । सम्पुर्ण घाइते परिवारहरुको उपस्थितिमा युवा समाजसेवीद्वय सुरेन्द्र खालिङ राई र कमल खडकामार्फत उक्त रकम राहत संकलन संयोजक चौधरीलाई हस्तान्तरण गरिएको हो ।
अहिलेसम्म स्वदेश तथा विदेश गरी ९ लाख २७ हजार ८ सय १६ रुपैया राहत कोषमा जम्मा भएको संयोजक मिश्रीलाल चौधरीले बताए । उनका अनुसार व्यक्तिगत र संस्थागत गरी साउदी अरव, कतार, मलेलिया, टर्की र दक्षिण कोरियाबाट सहयोग प्राप्त भएको छ ।
वनभोज खाएर फर्कदै गरेको ट्याक्टर मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरीको मृत्यु भएको थियो ।
विपासा चौधरी, प्रज्वल चौधरी, प्रतिक्षा चौधरी, देविका चौधरी, मन्दिरा चौधरी गम्भिर घाइते भएका थिए । भने अन्य सामान्य घाइते भएका थिए । दुर्घटनामा ३६ जना परेका थिए ।