काठमाडौँ । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले क्यामराम्यान मंगलबार इजास लिम्बुलाई काठमाडौंबाट पक्राउ गरेको हो।
भिडियोका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको अपराध महाशाखाले जानकारी दिएको छ।
उक्त म्युजिक भिडियोका गायकलाई प्रहरीले खोजी गरिरहेको छ।
सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ।
झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो।
‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट अपलोड गरिएको ‘देशद्रोही’ शीर्षकको उक्त गीतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्य देखाइएको छ ।
र्‍याप शैलीमा गाइएको गीतमा निकै तुच्छ र अपमानजनक शब्द प्रयोग गरिएको छ, जुन समाचारमा उल्लेख गर्नसमेत मिल्दैन । करिब साढे ४ मिनेटको भिडियोमा देशको झण्डा जलाउनुका साथै नेता र पूर्वराजाको फोटो पनि जलाइएको दृश्य छ ।
यो गीत मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको बुझिएको छ । यो भिडियोलाई लिएर फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ भने देशको झण्डा जलाउनेविरुद्द तत्काल कारबाहीको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया