काठमाडौं । प्रदेश १ सांसद उषाकला राईले घरेलु रक्सीलाई प्रतिबन्ध (ब्यान्ड) गरेर होइन ब्रान्ड बनाएर विदेश निर्यात गर्ने व्यवस्था मिलाउन माग गरेकी छिन् । प्रदेश सभाको बजेट अधिवेशनको सोमबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद राईले घरेलु रक्सीलाई अब सरकारले ब्यान्ड गरेर हैन ब्रान्ड बनाएर उत्पादन बढाउनुपर्नेमा जोड दिइन् । उनले नेपाली शुद्ध कोदो र जडीबुटीयुक्त्त घरेलु रक्सीहरू औषधि पनि भएकाले त्यसलाई ब्रान्ड बनाउन सके विदेशमा माग उच्च हुने बताइन् । घरेलु रक्सी ब्यान्ड भर्सेज ब्रान्ड बन्नुपर्ने बताइन् ।
उनले रक्सीमा प्रतिबन्ध लगाउने भए सबैखाले रक्सीमा प्रतिबन्ध लगाउनुपर्ने नत्र घरेलु रक्सीमा लागेको प्रतिबन्ध फुकुवा गरेर उद्योगका रूपमा विकास गरी ब्रान्ड बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘हामी घरेलु रक्सीमा प्रतिबन्ध लगाएर करोडौँको विदेशी रक्सी भित्र्याइरहेका छौँ, के हामी आफ्नै देशको शुद्ध घरेलु रक्सी चियर्स गरेर राष्ट्रवादी बन्न सक्दैनौँ ।’
सांसद राईले प्रतिबन्धित गाँजा खेतीलाई पनि फकुवा गर्न माग गरिन् । उनले गाँजा खेती फुकुवा गरेर विदेशमा निर्यात गर्न सकिने बताएकी छिन् ।
सांसद राईले विदेशी र ब्रान्डेड रक्सीहरूचाहिँ खुला गर्ने, तर स्थानीय स्तरमा उत्पादन भएको घरेलु रक्सीको उत्पादनलाई चाहिँ गैरकानुनी बनाउने कार्य गलत भएको बताउने गरेकी छिन् । सांसदहरू विमल कार्की, प्रतापप्रकाश हाङगामलगायतले पनि पटक पटक घरेलु रक्सीलाई ब्रान्डडिङ गर्न र गाँजा खेतीको प्रतिबन्ध फुकुवा गर्न पनि माग गर्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।