उदयपुर । जिल्लामै सय शैय्याको उदयपुर कोभिड अस्पतालको एक कार्यक्रमका विच विहिबार शिलान्यास भएको छ । समग्र उदयपुरको विकासको लागि बनेको आठ वटै पालिकाहरुको छाता संगठन उदयपुर विकास बोर्ड संस्थामार्फत सय शेय्याको चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातघारेमामा शिलान्यास गरेको छ ।
तत्काल २० शैय्याको आईसोलेशन वार्ड सहितको उदयपुर कोभिड अस्पतालको शिलान्यास त्रियुगा नगरपालिका मेयर तथा उदयपुर विकास बोर्डका अध्यक्ष बलदेव चौधरी, बेलका नगरपालिकाका मेयर तथा उदयपुर विकास बोर्डका सचिव दुर्गा थापा (स्वस्तिक) र चौदण्डीगढी नगरपालिकाका मेयर तथा उदयपुर विकास बोर्डका सदस्य खगेन्द्र राई सहितले संयुक्त रुपमा अस्पतालको शिलान्यास गरेको हो ।
उदयपुर विकास बोर्ड कोषमा प्रत्येक नगरपालिकाबाट १५–१५ लाख र प्रत्येक गाउँपालिकाबाट १०–१० लाख रहने गरी एक करोड लागतमा उदयपुर कोभिड अस्पतालको निर्माण गर्न लागिएको बोर्ड अध्यक्ष बलदेव चौधरीले बताए ।
‘मेरो संयोजकत्वमा गठित हामी पालिका प्रमुखहरु बैठक बसी प्रदेश सरकारसँग उदयपुरमा कोभिड अस्पतालको लागि अनुरोध गरेका थियौ’, शिलान्यासकै क्रममा मेयर चौधरीले भने, ‘सोही अनुसार हामीले हाम्रो आफ्नै ठाउँमा अस्पताल निर्माण गर्ने जिम्मेवारी पाएका छौ र चाँडै नै हामी पुरा गरेर हाम्रा नागरिकलाई सेवा सुविधा प्रदान गर्ने छौ ।’
सशस्त्र प्रहरी वल वेस क्याम्प नजिकैको खाली जग्गामा पक्की भवन सहितको तत्कालको लागि उदयपुर कोभिड अस्पताल बनेपनि भविष्यमा यसलाई बहुउपयोगी स्वास्थ्य संस्थाको रुपमा विकास गर्ने गरी अस्पतालको शिलान्यास गरेको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । उनका अनुसार तत्काल २० शैय्याको उदयपुर कोभिड अस्पताल निर्माण गरिने छ । आवश्यता अनुसार थपिदै जाने बताए । मेयर राईका अनुसार सशस्त्र प्रहरी बल वेस क्याम्प व्यवस्थापन गर्नको लागि शौचालय सहित ४ वटा भवनहरु निर्माण भईसकेका छन् भने सो मध्ये तीन वटा भवन सशस्त्र प्रहरीले प्रयोगमा ल्याएको छ भने बाँकी एक भवनमा अस्पतालका कर्मचारीहरुको क्वाटरको रुपमा सञ्चालन गरिने बताए । अहिले सो भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग भई ११ जनालाई राखिएको छ ।
हिजोसम्म ट्रस्ट स्टाइलले भवन निर्माण गर्ने सोच बनाएपनि अव नक्सा नै बनाएर पक्की भवन निर्माण गर्ने योजनामा रहेको मेयर राईले बताए । पक्की भवनको निर्माण करिव २० पछि शुरु गर्ने मेयर राईले जानकारी दिए ।
उदयपुर कोभिड अस्पताल निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारलाई पनि जानकारी गराई सकेको मेयर राईले बताए ।
शिलान्यास कार्यक्रममा प्रदेश सांसद अम्विका थापा, त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी, चौदण्डीगढी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरी, चौदण्डीगढी नगरपालिकाका वडाध्यक्षहरु सन्तोष सुवेदी, कमलध्वज राई, रामकुमार खड्का, ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक वुद्धिरामा चौलागाई, सशस्त्रका प्रनि भूपेन्द्र बस्नेत लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया